काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी र एसपीपीमा अमेरिकालाई नेपालले पत्र लेख्नुपर्ने माओवादी केन्द्रको केन्द्रीय समितिको निर्णय स्मरण गराएका छन्।
केन्द्रीय समितिको असार १९-२३ गतेसम्म काठमाडौंमा सम्पन्न बैठकले एमसीसी परियोजना र एसपीपीका बारेमा गरेको निर्णय स्मरण गराउँदै नारायणकाजीले तत्काल पत्र लेख्न माग गरेका हुन्।
एमसीसी पारित गर्दा उल्लेखित १२बुँदे ब्याख्यात्मक घोषणामा अमेरिकाले औपचारिक रुपमा कुनै प्रतिक्रिया नदिएको भन्दै श्रेष्ठले नेपाल सरकारले यथाशिघ्र अमेरिकासँग १२बुँदे घोषणाको सम्बन्धमा उसको धारणा स्पष्ट गर्न माग गर्दै पत्र लेख्नुपर्ने पार्टीको निर्णय कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन्।
श्रेष्ठले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णयबारे जानकारी गराउने पत्र तत्काल अमेरिकालाई लेख्ने निर्णय पनि कार्यान्वयन गर्न माग गरेका छन्।
अमेरिकासँगको सैन्य गठबन्धनको चरित्र अन्तर्निहित एसपीपी सम्झौतालाई सरकारले अघि नबढाउने निर्णय गरेको छ। राष्ट्रिय सार्वभमिकता एवं हितका सम्बन्धमा यो सहि निर्णय हो। यस सम्बन्धमा सरकारले तत्काल अमेरिकी सरकारलाई पत्र लेखी औपचारिक जानकारी गराइहाल्नु पर्दछ,’ श्रेष्ठले निर्णय उल्लेख गरेका छन्।
भूराजनितिक एवं सामरिक गठबन्धनमा नेपाललाई सामेल गराउने उद्देश्यकासाथ यस प्रकारका राष्ट्रिय सार्वभौमिकता र हित विपरितका सम्झौताको प्रयत्न भबिष्यमा पनि हुन सक्ने खतरा रहेकाले यसमा सचेत हुँदै आफ्नो पार्टीले निरन्तर खबरदारी गरिरहने उनको भनाइ छ। नारायणकाजीले एमसीसीबारे पार्टीभित्र निर्वाचनपछि बहस गर्ने निर्णय पनि स्मरण गराएका छन्।