काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार र अनियमिततालाई सरकारले ‘ब्रेक’ नलगाए मुलुक श्रीलंकाभन्दा खराब अवस्थामा पुग्ने बताएका छन्। ‘संसद् एक वर्ष चलेन। वैदेशिक मुद्रा सञ्चिति भएन। विकास निर्माणका काम ठप्प रहे। भ्रष्टाचार मौलाएको छ’, राजधानीमा सोमबार सम्पादकहरूसँगको अन्तक्र्रियामा ओलीले भने, ‘यस्तै अवस्था हो भने मुलुक श्रीलंकाभन्दा गम्भीर अवस्थामा पुग्छ।’ यो विषयमा सबै सचेत बन्नुपर्ने उनले बताए।
बजेट निर्माणजस्तो कार्यमा अनधिकृत व्यक्तिलाई घुसाउनुले मुलुकलाई अझै अधोगतिमा लैजाने ओलीले बताए। यस्तो कार्य अर्थमन्त्रीका तर्फबाट मात्रै नभएको दाबी गर्दै उनले भने, ‘बजेट निर्माण अनधिकृत व्यक्तिबाट गराइन्छ। करको दर फेरिन्छ। यस्तो सेटिङमा प्रधानमन्त्रीको पनि संलग्नता हुन सक्छ।’ यस्तै–यस्तै कार्यले गर्दा सरकारको कामप्रति नागरिकमा वितृष्णा पैदा हुँदै गएको उनले बताए।
ओलीले बजेट निर्माण र हतियार खरिद गर्न भएको चलखेलका विषयमा सरकारको ध्यानाकर्षण गरे। गठबन्धनको सरकारलाई ‘मृत’को संज्ञा दिँदै उनले भने, ‘यो सरकार निस्प्राण भइसक्यो। यसले हैजा फैलाउँछ। समाजलाई दूषित गराउँछ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भ्रष्टाचार बेलगाम भइरहेको आरोप लगाए।
यस्तै कर्मका कारण सरकारको अंगप्रत्यंग झर्दै जाने टिप्पणी ओलीले गरे। ‘भगवान् शिवले बोकेर हिँड्दा त सतीदेवी काम लागिनन्। अंगप्रत्यंग झर्दै गए’, उनले अर्थमन्त्री जनार्दन शर्माको राजीनामातिर संकेत गर्दै भने, ‘एउटा अंग झरिसक्यो, भ्रष्टाचारी अंग झरेर पिठ बन्छ ? त्यो ठाउँ त रुखो हुन्छ।’ संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा उनले यो ल्याउनुअघि सरकारले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिएर माफी माग्नुपर्ने बताए।
सरकारले मुद्दा फिर्ता लिएर जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनको तर्क थियो। विधेयक ल्याउँदा आफूसँग सल्लाह नभएको उल्लेख गर्दै उनले भने, ‘गर्नै मिल्दैन। असंवैधानिक छ भनेर सर्वोच्च अदालतमा मुद्दा हालेको छ। यता राष्ट्रियसभाजस्तो ठाउँमा लगेर संविधानसम्मत छ भनेको छ। योभन्दा निर्लज्ज अरू के हुन्छ ? यो लज्जास्पद कुरा हो। उहाँहरूले त्यो मुद्दा फिर्ता लिनुपर्छ।’
उनले आफ्नो पार्टीले चुनावी गठबन्धनका विषयमा हतारमा निर्णय नगर्ने बताए। गठबन्धन बनाएर सत्तामा पुग्नुलाई नै एमालेले सर्वोपरि नठान्ने उनको तर्क थियो। एमालेको मुख्य एजेन्डा देशमा सुशासन ल्याउने र लोकतान्त्रिक अभ्यासमा फर्किने रहेको उनले स्पष्ट पारे।
‘मैले गठबन्धन चलाएर हेरेको छु। गठबन्धनका लागि गठबन्धन बनाउने पक्षमा छैन। परिस्थितिमा परिवर्तन मुख्य कुरा हो’, उनले भने।
पटक–पटक विवाह र डिभोर्स हुने प्रवृत्ति समाजमा देखिएको टिप्पणी उनले गरे। यसलाई गठबन्धन निर्माणसँग उनले तुलना गरे। भने, ‘किन पटक–पटक विवाह र डिभोर्स हुन्छ ? किनभने, त्यो विवाह साँचो थिएन। डिभोर्स साँचो थियो। साँचो डिभोर्स गर्न एमाले नक्कली विवाह गर्दैन।’
सरकारमा पुग्नु मात्रै सबै कुरा नभएको उनको भनाइ छ। अब मुलुक चुनावमा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले सरकारको काम नभएको पनि बताए।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा उनले वनको क्षति नगरी हाल विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रको दक्षिणतर्फ टाँगिया बस्ती हटाएर दुई हजार मिटर क्षेत्रफलमा बनाउन सकिने बताए। ‘वनको क्षति नगरीकन नजिकको टाँगिया बस्ती हटाउँदा र दक्षिणपट्टि बनाउँदा खेरि दुई हजार स्क्वायर मिटरमा पुग्ने ठाउँमा ८ हजार मिटर लिनुपर्ने आवश्यकता पर्दैन’, उनले भने।
उनले धेरै वातावरणीय क्षति नगरी चाहिएजति जमिन लिएर विमानस्थल निर्माण गर्न सकिने धारणा व्यक्त गरे। विमानस्थलका विषयमा सर्वोच्च अदालतले पर्याप्त अध्ययन नगरी फैसला गरेको टिप्पणी ओलीले गरे।
संघीयताका विषयमा राखेको एक प्रश्नमा ओलीले यस विषयमा घुमाउरो असन्तुष्टि जनाए पनि कार्यान्वयनमा आइसकेकाले यसलाई सफल पार्नुपर्ने मत राखे। भने, ‘हामीले यो संविधान मुस्किलले ल्याएका थियौं। त्यो अवस्थामा जति विचार गर्नुपर्थ्यो गर्न सकिएन। त्यस बेला साम्प्रदायिक विषयहरू उछालेर देशलाई रुवान्डा बनाउन खोजिएको थियो। १५–२५ वटा राज्य बनाउनेदेखि लिएर त्योभन्दा बढी पृथकताकै कुरा गरे। देशलाई एकताबद्ध राखेर विष र विषाक्त कुरालाई समन गरेर लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने अहम् जिम्मेवारी थियो। हामीले त्यो जिम्मेवारी वहन गर्दा धेरै कुरामा विचार पुर्याउने परिस्थिति रहेन।’
ओली सरकारबाट बाहिरिएको मंगलबार एक वर्ष भएको छ। २०७८ असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि ओली सरकार हटेको थियो। असार २९ गते शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धन सरकार बनेको थियो।