मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नियमित उडानमा श्रीलंकाका राष्ट्रपति सिंगापुर गएनन्, निजी विमान पर्खदै

Himali Patrika 1 मिनेट पढाइ

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर जाने तयारी गरेका छन्। डेली मिररका अनुसार मालेबाट सिंगापुर एयरलाइन्सको नियमित उडानमा सिंगापुर जाने भनिए पनि उनी सुरक्षाका कारण विशेष निजी विमानको पर्खाईमा छन्।

राजापाक्षे र उनकी श्रीमती इओमा राजापाक्षे आफ्ना दुई सुरक्षा अधिकारीसहित बुधबार राति मालेबाट सिंगापुरका लागि एसक्यू ४३७ फ्लाइटबाट सिङ्गापुर प्रस्थान गर्ने तयारी गरेका थिए। तर सुरक्षाको कारणले विमानमा चढ्न नसकेको माल्दिभ्सका स्रोतलाई उद्धृत गर्दै डेली मिररले समाचार लेखेको छ।

श्रीलंकाका राष्ट्रपतिलाई माल्दिभ्सबाट सिंगापुर जानका लागि निजी विमान उपलब्ध गराउने विषयमा अहिले वार्ता भइरहेको छ।
उनले माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिदसँग वार्ता गरिरहेका छन्।

आफ्नै देशभित्र असुरक्षा भएको भन्दै देश छाडेर भागेका राजापाक्षेलाई श्रीलंकाको सेनाले नै सहयोग गरेको छ। सेनाकै सहयोगमा सेनाको जहाजमा उनी बुधबार बिहान सबेरै कोलम्बोबाट माले पुगेका थिए।

यसअघि उनका अर्का भाइ तथा पूर्व अर्थमन्त्रीलाई भने भाग्न खोज्दा सेनाले अवरोध गरेर फर्काएको बताइएको छ। तत्कालीन राष्ट्रपति राजापाक्षेलाई रक्षा मन्त्रालयको आदेश र स्वीकृतिमा माल्दिभ्स लगिएको श्रीलंकाको सेनाले जनाएको छ।

सेनाले आफूखुसी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ। राजापाक्षेसँगै उनकी श्रीमती र दुई अंगरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन्।

उनीहरू चारै जनालाई श्रीलंकाको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थल माले लगिएको थियो। राजापाक्षेले देश छाडेको खबरले थप आक्रोशित भएका प्रदर्शनकारीका हिंसा भड्किन नपाओस् भन्ने उद्देश्यले श्रीलंकामा अहिले आपतकालीन अवस्था घोषणा गरिएको छ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार आपतकालीन अवस्था घोषणा गरेका हुन्। सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कर्फ्यु पनि लगाइएको छ।

यसैबीच, बुधबार साँझ बसेको सर्वदलीय बैठकले प्रधानमन्त्री विक्रमासिंघेलाई राजीनामा दिन सुझाव दिएको छ। बुधबार राजीनामा दिन्छु भनेका राष्ट्रपति गोटवाया राजापाक्षेले माल्दिभ्सबाटै प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन्।

प्रदर्शनकारीहरूले विक्रमासिंघेको राजीनामा मागिरहेका छन्। विक्रमासिंघेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रुग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको समाचारमा जनाइएको छ। विक्रमासिंघेले दंगा मच्चाउनेलाई गिरफ्तार गर्न ठाडो आदेश पनि दिएका छन्।

राजापाक्षे र विक्रमासिंघे दुबैले राजीनामा दिएपछि नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुने र प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको थियो। आफूलाई पदमै राखेर भागेका राष्ट्रपतिले नयाँ कदम चालेपछि श्रीलंकाको राजनीति थप अनिश्चिततामा फसेको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।