३१ असार, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले डाक्टर बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चक्नाचुर भएको बताएका छन् ।
बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार वीरगञ्चमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चक्नाचुर भएको बताएका हुन् ।
‘पार्टी विभाजन गर्ने हेतुले गुटको बैठक बोलाउनु भयो’ उनले भने, ‘ संख्या नपुगेकोले, राजनीतिक रुपमै गलत भएका कारणले पार्टी फुटाउने योजना चक्नाचुर भएको छ ।’
काठमाडौंमा भएको भट्टराई निकटका नेताको बैठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरिएको समेत अध्यक्ष यादवले बताए । जसपाको बिहीबार बसेको बैठकले विधानविपरीत, पार्टी हित विपरीत कार्य गरेको भन्दै संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना नेतालाई जिम्मेवारीबाट मुक्त गरेको हो ।