म भाजपासँग सम्बन्ध विस्तारका लागि मात्र भारत भ्रमणमा आएको हुँ : दाहाल

म भाजपासँग सम्बन्ध विस्तारका लागि मात्र भारत भ्रमणमा आएको हुँ : दाहाल

नयाँ दिल्ली । नेकपा मा‌ओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)सँग ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तारका र सरकार तहमा देशको हितमा कूटनीतिक कुराकानी गर्न भारत भ्रमणमा आएको बताएका छन् ।दिल्ली ओर्लिएलगत्तै कान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले भाजपा र माओवादी केन्द्र दुवै सत्तारुढ पार्टी भएकाले पार्टी तहका नेताहरुबीच छलफलले पार्टीसँगै देशको सम्बन्ध सुदृढ बनाउने बताएका हुन् ।

‘यता भाजपा र उता हामी दुवै सत्तारूढ पार्टी हौं, पार्टी तहमा नेताहरूबीचको छलफलले पार्टीसंगै देशकै सम्बन्धलाई थप सुदृढ़ बनाउँछ,’ उनले भने ‘दिल्लीमा रहँदा भाजपाका नेताहरू र सरकारी अधिकारीहरूसँग मेरो भेटघाट हुनेछ ।’

प्रधानमन्त्री नरेन्द्र मोदीसँग आइतबार भेटको तयारी रहेको दाहालको सचिवालयले जनाएको छ । दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा तीन दिने दिल्ली भ्रणमा रहेका छन् । ‘उहाँले करिब डेढ महिना पहिले नै निम्तो पठाउनु भएको थियो,’ दाहालले कान्तिपुरसँग भने ‘अहिले समय मिल्यो । यता आएको बेला सरकारी तहमा छलफल हुने नै भयो ।’

Europass CV in Nepal

दाहाललाई शुक्रबार साँझ विदेश सचिव विनयमोहन क्वात्रा र शनिबार विदेश मन्त्री एस. जयशंकरले उनी बसेको ताजमानसिंह होटलमा भेट्दैछन।

विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने प्रमुख अनुराग श्रीवास्तव दाहाललाई स्वागत गरेका थिए । यसले भ्रमणलाई भाजपा र भारत सरकार दुवैले महत्त्व दिएको देखिन्छ।