घरघरमा तिरंगा झन्डा फहराउन सिक्किमवासीलाई मुख्यमन्त्री तामाङको निर्देशन

घरघरमा तिरंगा झन्डा फहराउन सिक्किमवासीलाई मुख्यमन्त्री तामाङको निर्देशन

गान्तोक, सिक्किम । झन्डाले राष्ट्रियतालाई कति व्यक्त गर्छ ? सन् १९७५ मा भारतको २२ औं राज्यका रूपमा गाभिएको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ भन्छन्, ‘झन्डा नै देशको पहिचान हो ।’

देश विलय हुने बेलामा भएको सम्झौता ‘सिक्किम सब्जेक्ट’मा आफ्नै लोगो चलाउन पाउने सुविधा पाएको सिक्किमका जनतालाई यसपालि भने भारत सरकारले घरघरमा तिरंगा झन्डा (भारतीय झन्डा) फहराउन उर्दी जारी गरेको छ । त्यसलाई अनुसरण गर्दै मुख्यमन्त्री तामाङले सिक्किमवासीलाई घरघरमा झन्डा राख्न भनेका हुन् ।

‘व्यक्ति र पद केही होइन, यदि त्यहाँ झन्डा छैन भने,’ आइतबार सिक्किमेलीलाई सम्बोधन गर्दै एक कार्यक्रममा उनले भने, ‘मलाई प्रहरीले सलाम किन गर्छ भने मेरो गाडीमा देशको झन्डा छ, त्यसैले अब तपाईंहरूले पनि आफ्ना घरमा तिरंगा झन्डा फहराउनुस्, त्यसका लागि झन्डा किन्नु पर्दैन, सरकारले दिन्छ ।’

Europass CV in Nepal

सरकारले भारत स्वतन्त्रताको ७५ औं वर्षगाँठ अगस्ट १ देखि १५ सम्म मनाउने तयारी गरिरहेको छ । हीरक जयन्तीका लागि तय गरिएको ‘आजादीका अमृत महोत्सव’का समयमा घरघरमा भारतीय झन्डा फहराउन मुख्यमन्त्रीले जनतालाई आग्रह गरेका हुन् ।

‘झन्डा घरमा राख्नु भनेको सिंगो देशप्रतिको श्रद्धा हो,’ सिक्किम प्रेस क्लबले गान्तोकको मनन केन्द्रमा गरेको २० औं स्थापना दिवसका अवसरमा उनले भने, ‘हामीले भारतको अभिन्न अंग भएयता धेरै कुरा पाएका छौं, त्यसैले देशलाई माया गर्नुपर्छ, झन्डालाई श्रद्धा गर्नुपर्छ ।’ उनको पछिल्लो गतिविधिले मुख्यमन्त्री तामाङ सत्ताधारी दल भाजपाप्रति लचिलो देखिन्छन् ।

सन् २०२१ को जनगणनाअनुसार ६ लाख ६३ हजार जनसंख्या रहेको सिक्किम भारतमा विलय भएयता केन्द्र सरकारबाट ठूलो मात्रामा अनुदान पाइरहेको छ । मुख्यमन्त्री तामाङले त्यसलाई सकारात्मकरूपमा लिनुपर्ने भन्दै जनता पनि भारतप्रति बफादार हुनु पर्ने अभिव्यक्ति पनि दिएका छन् ।

‘अनुदानमा हामीले ठूलो रकम पाउँदै आएका छौं, यो सालमात्रै ५ हजार करोडको सडक निर्माण परियोजना केन्द्र सरकारबाट आएको छ, के यो सानो हो ?’ उनले भने, ‘सिक्किमजस्तो ठाउँको गरिबी घटेको छ र हाम्रो जीवन राम्रो भएको छ भने हामीले तिरंगा झन्डा किन नफहराउने ?’

भारतले नेपालसँग जोडिएका सीमावर्ती राज्यमा ठूलो अनुदानमा सडक विस्तार गर्दैछ । त्यसअन्तर्गत सिक्किममा पनि केन्द्रीय सडक परियोजना परेको हो । जसलाई मुख्यमन्त्री तामाङले ‘गौरवको योजना’का रूपमा लिनुपर्ने बताए । ‘घरमा झन्डा राख्दा केही बिग्रँदैन, झन् देश प्रेम झल्कन्छ,’ उनले भने, ‘पार्टीको झन्डा राख्छौं हामी, देशको झन्डा किन नराख्ने ?’