नेपाल चाँडै दक्षिण एसियामा बलियाे अर्थतन्त्र भएकाे देश बन्छ : सूचना प्रविधिमन्त्री कार्की

नेपाल चाँडै दक्षिण एसियामा बलियाे अर्थतन्त्र भएकाे देश बन्छ : सूचना प्रविधिमन्त्री कार्की

मकवानपुर ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल चाँडै दक्षिण एसियामा बलियाे अर्थतन्त्र भएको देशकाे रूपमा परिणत हुने उद्घोष गर्नुभएको छ ।

आज शुक्रवार हेटौँडामा नेपाल प्रेस युनियनको नवाैँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपालको अर्थतन्त्रमा केही समस्या रहे पनि श्रीलङ्का पथमा नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले देशमा हरेक चोक–चोकमा नेपाल श्रीलङ्काकाे बाटाेतर्फ गइरहेकाे छ भनेर अफवाह फैलाइएको छ । नेपाल चाँडै नै दक्षिण एसियामा सबल अर्थतन्त्र भएको देशकाे रूपमा स्थापित हुनेछ । अब चाँडै सङ्घ र प्रदेशको चुनाव आउँदैछ, यसबाट हामीले १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको देशकाे रूपमा परिणत गर्ने गरेर जानुपर्छ ।’

Europass CV in Nepal

सञ्चारमन्त्री कार्कीले एमसीसी पास गरेपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परिरहेको बताउनुभयो ।

कार्यक्रममा बाेल्दै मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिबद्ध रहेको दाबी गर्नुभयो । उहाँले सरकार दक्षिण एसियामा नै प्रेस स्वतन्त्रताको अग्रणी देशको रूपमा नेपाललाई स्थापित गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।