आयल निगमको एक वर्षको घाटा ५५ अर्ब

आयल निगमको एक वर्षको घाटा ५५ अर्ब

काठमाडौं । मुलुकमा इन्धन आपूर्ति र कारोबारको एकाधिकार भएको नेपाल आयल निगमले एक आर्थिक वर्षमै ५५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ ।

सबै प्रकारका सञ्चिति कोष रित्तिएर आर्थिक वर्ष २०७८/७९ मा यो आकारको अनुमानित घाटा व्यहोरेको निगम उच्च स्रोतले जनाएको छ । ‘आर्थिक वर्ष अन्त्यको प्रारम्भिक अनुमानमा यो आकारको घाटा देखिएको छ,’ स्रोतले भन्यो, ‘भलै अन्तिम लेखापरीक्षण प्रतिवेदनमा केही मौज्दात इन्धनको रकम हिसाब गर्दा थोरै रकम तलमाथि हुनसक्छ ।’

यस वर्षको प्रारम्भिक नोक्सानी इतिहासमै हालसम्मकै उच्च भएको निगमको दाबी छ । आव २०७७/७८ मा निगमले ४ अर्ब घाटा व्यहोरेको थियो ।

Europass CV in Nepal

अघिल्लो वर्षसम्म आफ्नो सञ्चित कोषमा रहेको २६ अर्ब रकम खर्च गरेर पनि निगम अहिले ३५ अर्ब ऋणमा चलेको स्रोतको दाबी छ । ‘निगमले १० अर्ब रुपैयाँ ऋण लिएर भारतीय आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्दा पनि अझै ३५ अर्ब उधारो बाँकी छ,’ स्रोत भन्छ, ‘भारतको ऋण नेपालमा सरेको मात्रै छ ।’

गत वर्षको तुलनामा खपत र लागतमा उच्च वृद्धि हुँदा निगमको नोक्सान अनपेक्षितरुपमा बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिसँगै इन्धनको लागत दोब्बरले बढ्नु, निगमलाई घाटा रहेको पेट्रोल र खाना पकाउने ग्याँसको बिक्री बढ्नु लगायतका कारणले निगमको वित्तीय अवस्थामा थप दबाब सृजना गरेको उनको भनाइ छ ।

आव २०७८/७९ मा नेपालले ३ खर्ब १० अर्बको पेट्रोलियम कारोबार गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा दोब्बर बढी हो । आव २०७७/७८ मा निगमले १ खर्ब ५८ अर्बको पेट्रोलियम पदार्थ खरिद गरेको थियो ।