दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिमा गरेका बिरामीलाई फर्काउने गरेको गुनासो आउन थालेको पत्रकार सन्तोष खनालले नयाँ युगबोध राष्ट्रिय दैनिकमा समाचार लेख्नु भएकोछ । समाचारका अनुसार, ‘कोटा सकियो भन्दै फर्काउँदै प्रतिष्ठान’ शीर्षकमा पत्रकार नारायण विवशले शुक्रबार फेसबुकमालेख्नुभएको थियो।
‘राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा बनाएका बिरामीहरुलाई कोटा सकियो भन्दै फर्काउने गरेको छ ।
कोटा सकियो, भोलि आउनु पर्सिआउनु भनेपछि बाध्य भएर आफ्नै खर्चमा उपचार गरेको दर्जनबढी पीडित बिरामीले बताए । निःशुल्क स्वास्थ्य बिमा बनाएकी ९६ वर्षीया मेरी आमा पनि साउन ६ गते यस्तो सुविधाबाट बञ्चित हुनभयो ।’ प्रतिष्ठानमा इमरजेन्सीका सबै र ओपिडीका ८ बजेदेखि १२ बजेभित्रका बिरामीलाई मात्रै विमा सुविधा हुने गरेको प्रतिष्ठानमा बिमा र कोरोना हेर्ने रेकर्ड असिस्टेन्ट यज्ञबहादुर पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार १२ बजे पछाडिका बिरामीको पेइङ क्लिनिक अर्थात बिरामीले रोजेका डाक्टरको सेवा लिनेमा बिमा भुक्तानी छैन । ओपिडीमा आउने आइतबारदेखि विहीबारसम्म बिहान ८ बजेदेखि १२ बजेसम्म र शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्मका बिरामीको विमा भुक्तानी हुने गरेको प्रतिष्ठानले जनाएको छ ।