धरहरा बनाउने कम्पनीलाई मन्त्री मेटमणि चौधरीले झपारे, पेनाल्टी तिराउने चेतावनी

धरहरा बनाउने कम्पनीलाई मन्त्री मेटमणि चौधरीले झपारे, पेनाल्टी तिराउने चेतावनी

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले धरहरा बनाइरहेका कम्पनीका ठेकेदारलाई झपारेका छन्। अनुगमन तथा निरीक्षणका लागि सोमबार सुन्धारा पुगेका मन्त्री चौधरीले आफ्नो इज्जतको ख्याल गर्न आग्रह गरेका थिए।

आयोजना निर्देशक कोषनाथ अधिकारीबाट धरहरा निर्माण आयोजनाको प्रगति विवरण सुनिसकेपछि उनले भने, ‘चारपटक म्याद थप भइसकेछ। अब कति पटक थप्नुपर्ने? पैसामात्रै कमाउन खोजेजस्तो नगर्नुस्। आफ्नो इज्जतको पनि ख्याल गर्नुस्।’

उनले निर्माण पूरा नहुँदै उद्घाटन गर्न दिएको भन्दै आपत्तिसमेत जनाए। ‘आधामात्र काम हुँदा पनि तत्कालीन प्रधानमन्त्रीलाई उद्घाटनका लागि किन हौस्याउनुभयो? मैले पनि त्यस्तै काम गर्न थाले भने रोक्नुपर्ने दायित्व तपाईँहरुको होइन र?,’ उनले सचिवलाई इंगित गर्दै भने।

Europass CV in Nepal

मन्त्रीको जवाफपछि सचिव डा. रेमशप्रसाद सिंहले समयसीमामै काम सकाउन आग्रह गरेका थिए। ‘यसपटक समयमै काम सकाउनुस्। नत्र पेनाल्टीसमेत हुनसक्छ,’ उनले ठेकेदार कम्पनीका प्रतिनिधिलाई भने।

कूल ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २३८ रुपैयाँ ४६ पैसा (भ्याटसहित)को लागतमा दुई वर्षमा सक्नेगरी सम्झौता भएको थियो। चार पटक म्याद थप भइसकेको यस परियोजनाको अन्तिम मिति ०७९ असोज मसान्त रहेको छ। हालसम्म भौतिक निर्माणतर्फ ७५ प्रतिशत र वित्तियतर्फ करिब ६६ प्रतिशत काम सम्पन्न भएको छ। धरहराको निर्माण जीआइइटीसी-रमन जेभीले गरिरहेको छ।