काठमाडौँ । चन्द्रागिरी जाने यात्रु गण्डोला (मान्छे बस्ने बक्स)मा अड्किए इमर्जेन्सी ड्राइभमार्फत उद्धार गरिने चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष चन्द्र ढकालले बताएका छन् । केबलकार सञ्चालनका लागि विद्युत्, जेनेरेटरसँगै ‘इमर्जेन्सी ड्राइभ’ समेत रहेकाले केबलकार सेवा सुरक्षित रहेको उनको भनाइ छ ।
प्राविधिक समस्या आएर यात्रुहरू केबलकार र भालेश्वर मन्दिरमै अड्किनुपर्ने समस्या नआउने ढकालले बताएका छन् । केबलकार सुरक्षाको हिसाबले सत प्रतिशत सुरक्षित रहेको समेत उनले दाबी गरेका छन् । केबलकार रोकिदैमा मानवीय दुर्घटना नहुने र सकुशल उद्धार गर्न सकिने विभिन्न व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
विद्युतको समस्या हुँदा जेनरेटर चलाएर केबलकार चलाइने गरेको उनले बताए । ‘बत्ती, जेनरेटरले काम नगरेको अवस्थामा अड्कियो भने इमर्जेन्सी ड्राइभमार्फत यात्रुलाई उद्धार गरिन्छ,’ उनले भने, ‘मन्दिर परिसरमा अड्किनु भएका यात्रुलाई सडक मार्गमार्फत उद्धार गर्न सक्छौं, यो बाहेक हामीसँग रिसोर्ट र रेस्टुरेन्ट छ, खाने-बस्ने व्यवस्था छ, यसको खर्च सबै कम्पनीले व्यहोर्नेछ ।’
पूर्ण रूपमा अटोमेटेड (स्वाचालित) प्रविधिमार्फत चल्ने केबलकार सेवा दिएकाले सुरक्षित रहेको संस्थापक सदस्य अम्बिका पौडेलले बताए । ‘डुपल मेयर’ कम्पनीका २० हजारभन्दा बढी केबलकार विश्वभरि छन् । गण्डोलामा अड्केका यात्रुलाई करिब ४० मिनेटमा उद्धार गरिसक्ने व्यवस्था रहेको उनले बताए ।
‘हरेक दिन केबलकार सञ्चालन गर्नुअघि हामी प्राविधिक परीक्षण गर्छौं,’ कम्पनीका इन्जिनियर सरोज चापागाईले भने, ‘प्राविधिक समूहले ओके भनेपछि मात्रै सञ्चालन गरिन्छ।’ तत्काल समाधान हुने समस्या भए समाधान गरिहाल्ने र समय लाग्ने भएमा इमर्जेन्सी ड्राइभ सिस्टमबाट करिब ४० मिनेटमा मानिसलाई उद्धार गरिसक्ने उनले बताए ।