विराटनगर। करिब ४ वर्ष भारतमा प्रशोधित खाने तेल निकासी गरेर मालामाल भएका तेल उद्योगी अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि ठूलो नोक्सानीमा छन्। प्रतिटन दुई हजार रुपैयाँमा किनेको खानेतेलको कच्चा पदार्थ अहिले हजार डलरमा झरेको छ।
सबैजसो कम्पनीले तीन महिनालाई पुग्ने कच्चा पदार्थ ल्याइसकेकाले मूल्य घट्दा ठूलो नोक्सानी ब्योहोरेका हुन्। अघिल्लो वर्षको हरेकजसो तेल उद्योगको ब्यालेन्ससीट हेर्दा पनि सामान्य उद्योगले अर्ब भन्दा माथि नाफा गरेका थिए। भारतसँगको भन्सार फरक र अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाबका कारण नाफा गरेका तेल उद्योग भने अहिले नराम्रोसँग फसेका छन्।
अन्तर्राष्ट्रिय बजारमा अप्रिलयता कच्चा तेलका मूल्यमा अस्वाभाविक रूपमा भएको उतारचढावले एउटा उद्योग कम्तीमा ५० करोडको नोक्सानीमा छ। केएल दुगड समूहका प्रवन्ध निर्देशक कुमुद दुगडले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा तेल उद्योगले करोडौं नोक्सानी ब्योहोर्नु परेको बताउँछन्।
उनका अनुसार तीन महिनालाई पुग्ने मौज्दात सबै उद्योगले राख्ने गरेका छन्। इन्डोनेसियाले पामोलिन तेलको निकासी बन्द गरेपछि धेरै उद्योगले अभाव हुने डरले एलसी खोलेको र नेपाल नआउँदै मूल्य घटेर समस्यामा परेको उनी बताउँछन्।
संसारमै कच्चा पामोलिन तेलको एक मुख्य खेलाडी इन्डोनेसियाले गत अप्रिल २९ मा अकस्मात निर्यात बन्द गरिएको घोषणा गर्यो।ि विश्वमै तेलको उत्पादनमा ह्रास आएको र स्टक सीमित भएको जानकारी पाएपछि त्यस वेला इन्डोनेसियाले निर्यात बन्द गरेको थियो। इन्डोनेसियाको सरकारले आफ्ना मुलुकका नागरिकलाई सहज र सुलभ मूल्यमा खाद्यतेल उपलब्ध गराउन निर्यात बन्द गर्नुपरेको स्पष्टीकरण दिएको थियो।
क्रुड पामोलिनको अर्को निर्यातकर्ता देश मलेसिया पनि हो।
शारडा ग्रुपको पशुपति खाद्यतेल उद्योगका सञ्चालक अमित शारडा इन्डोनेसियाले तेलको निर्यात बन्द गरेपछि एक हप्ताभित्रै तेलको भाउ उकालो लाग्न थालेपछि उद्योगले धमाधम तेलको एलसी खोलेको बताए। शारडाका अनुसार अप्रिल २८ सम्म क्रुड पामोलिनको मूल्य इन्डोनेसिया र मलेसियामा टनको १ हजारदेखि ११ सय डलर थियो। इन्डोनेसियाको प्रतिबन्धको घोषणालगत्तै मूल्य १८ सयदेखि १९ सय डलरसम्म भयो। त्यही वेला युद्धका कारण युक्रेनबाट आउनुपर्ने सूर्यमुखीको कच्चा तेल पनिआउन सकेन। त्यसको मार पनि पामोलिनमै पर्यो।
कच्चा पामोलिनको मूल्य एकाएक आकासिएपछि अन्य तेलमा पनि यसको असर पर्यो। त्यसपछि मूल्य २१ सय डलर भयो। अर्जेन्टिनाबाट आउने कच्चा सोयाबिन तेलको मूल्य १२ सय डलरबाट २ हजार पुग्यो। उद्योग सङ्गठन मोरङका कोषाध्यक्ष एवम् क्वालिटी रिफाइनरीका सञ्चालक विपिन काबराका अनुसार नेपालका उद्योगीले के सोचे भने इन्डोनेसियाको यो प्रतिबन्ध कम्तीमा ६ महिना चल्नसक्छ। र, क्रुड पामोलिनको मूल्य पनि उक्लिएर टनको २५ सय डलरसम्म पुग्नसक्छ।
त्यसैले उनीहरूले धमाधम १८ देखि १८ सय ५० डलरका भाउमा क्रुड पामोलिनको सौदा गरे। सोयाबिन तेलको पनि त्यसरी नै एलसी खोले। हरेक उद्योगीले ४ आफूलाई ४ महिना पुग्ने कच्चा तेल मगाए। उद्योग सङ्गठनका वरिष्ठ उपाध्यक्ष एवम् श्रीराम रिफाइनरीका सञ्चालक प्रदीप मुरारकाका भनाइमा हरेक खाद्य तेल उद्योगले कम्तीमा २ महिनालाई आवश्यक पर्ने कच्चा पदार्थ सधैँ मौज्दातमा राख्नुपर्छ। किनभने इन्डोनेसियाबाट महिनाको २ वटा जहाज मात्र कोलकाता बन्दरगाहमा आउँछन्। र, एक जहाजले बढीमा १८ हजार टन तेल बोक्न सक्छ।
त्यस्तै अर्जेन्टिनाबाट त महिनाको एक जहाज मात्र कोलकाता बन्दरगाहका लागि चलान गरिन्छ। त्यो पनि ५० दिनमा मात्र कोलकाता आइपुग्छ। भटमासको तेल पनि एक जहाजमा बढीमा १८ हजार टनमात्र बोक्न सकिन्छ। मुरारका सुनाउँछन्, ‘यस्तो हाहाकारका वेला हरेक उद्योगीले ४ महिनाका लागि कच्चा पदार्थ मगाउनु अस्वाभाविक थिएन। अरू वेला पनि चार महिनाकै लागि कच्चा पदार्थ खरिद गर्ने हो किनभने भनेका वेला जहाज पाइँदैन।’
तर एक महिना नपुग्दै परिस्थितिले कोल्टे फेर्यो। अप्रिल २९मा अर्को सुचना प्रकासित गर्दै मे २३ देखि इन्डोनेसियाले कच्चा पामोलिनको निकासी खुला गर्योल। यही वेला प्रशोधित तेलको सबैभन्दा ठूलो क्रेता चीनमा कोभिड फैलियो। त्यहाँ कडा लकडाउन गरियो। फलतःचीनले पामर सोया तेलको पैठारी ६० प्रतिशतले कम गर्योा। यता जनतालाई सहुलियतमा तेल उपलब्ध गराउन अर्को ठूलो क्रेता भारतको सरकारले सोया र सूर्यमुखीको तेलको आयातमा भन्सार महसुल शून्य बनायो र पामोलिनको आयातलाई पनि ६ प्रतिशतमा झार्यो । तीन थरीकै तेलमा जीएसटी ५ प्रतिशत भने कायम राख्यो।
यिनै कारणले गर्दा विश्व बजारमा सोया र पामोलिन दुबै प्रकारको तेलको मूल्य फेरि नमज्जाले झर्यो। शारडाको गुनासो छ, ‘ टनको १८ सय डलर पुगेको कच्चा पामोलिनको मूल्य अहिले १ हजार ५० देखि ११ मा आइपुगेको छ। कच्चा सोया तेलको मूल्य १२ सय डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घटेपछि यहाँ तयारी तेलको मूल्यपनि घटाउनु परेको छ। त्यसैले अहिले हरेक उद्योग पचासौँ करोड रुपैयाँको नोक्सानीमा परेका छन्।’
नेपालमा प्रशोधित तेलका २४ वटा उद्योग छन् जसमा १५ वटा ठूला उद्योग छन्। तेलको मूल्यमा अकस्मात् आएको ह्रास र गिरावटले हरेक ठूला उद्योगले ७० लाख डलरको घाटा ब्यहोर्नुपरेको छ। उनको दाबी छ, ‘हरेक ठूला उद्योगले सोया र पामको कच्चा तेल गरेर १० हजार टनको स्टक गरेका थिए। एक टन तेलमा ७ सय डलरको गिरावट छ। यस हिसाबले १० हजार टनमा ७० लाख डलरको घाटा छ। यो भनेको करिब नेपाली ९० करोड रुपैयाँ हो’ मुरारकाले अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतार चढावका कारण आफ्नो उद्योगले ५० करोडभन्दा बढीको घाटा बोकिरहेको जिकिर गरे।