पेट्रोलियम पदार्थको मूल्य घट्दैन- आयल निगम

पेट्रोलियम पदार्थको मूल्य घट्दैन- आयल निगम

नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको छ। बुधबार विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थमा अझै घाटा भएकाले तत्काल मूल्य नघट्ने स्पष्ट पारेको हो।

निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आए पनि वक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने विज्ञप्तिमा उल्लेख छ। निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत् नै राख्नुपर्ने निगमले जनाएको छ।

‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ।

Europass CV in Nepal

लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब उपलब्ध गराए पनि घाटा अझै २३ अर्ब रहेको निगमले जानकारी गराएको छ। महंगो इन्धनको खपत कम गर्न सर्वसाधारणलाई निगमले आग्रह गरेको छ।

भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो ।

१५ दिन अघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो। त्यो समयमा पनि भारतबाट मूल्य घटेर आएपनि आयल निगमले भने मूल्य घटाएको थिएन।

निगमका लागि सो मूल्य घटेर आएपछि हाल उसलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफा छ । डिजलमा ९ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४९९ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ ।

 

Europass CV in Nepal