मुख्य सामग्रीमा जानुहोस्
Saturday, 10 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पाँच दलले गरे चुनावमा मिल्ने निर्णय,बाबुराम फेरि गोरखा २ मै उठ्ने

Himali Patrika 1 मिनेट पढाइ

सत्ता गठबन्धनमा रहेका पाँच दलले शुक्रबार आगामी मंसिर ४ मा हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन्।

यो निर्णय गर्दा जसपा छाडेर नेपाल समाजवादी पार्टी गठन गर्न जुटेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भने छुटेका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पहिलो पटक विघटन गरेदेखि नै भट्टराई पाँच दलीय अहिलेको गठबन्धनसँग नजिक छन्।

जसपाको उपेन्द्र यादव पक्षले संघीय परिषदबाट हटाएसँगै भट्टराई सत्ता गठबन्धनका बैठकमा देखिएका छैनन्। पाँच दलले अबको चुनावमा सँगै जाने निर्णय गरे पनि यो मोर्चामा अरू दललाई थप गर्ने वा नगर्नेबारे अहिले बताइसकेका छैनन्।

भट्टराईनिकट नेता विश्वदीप पाण्डेका अनुसार बाबुराम सत्ता गठबन्धनमै छन्।

‘पार्टी गठन लगायतका आन्तरिक विषयमा व्यस्त हुँदा उहाँ सत्ता गठबन्धनका बैठकहरूमा सहभागी हुन पाउनुभएको छैन,’ उनले भने, ‘हामी सत्ता गठबन्धनमै छौं, इतरतिर होइन।’

उनले बाबुराम फेरि गोरखा क्षेत्र नम्बर २ मा चुनाव लड्ने तयारीमा रहेको जानकारी दिए। ‘उहाँ (भट्टराई) यसपालि पनि गोरखा २ मै चुनाव लड्ने हो, तयारी भइरहेको छ,’ उनले भने।

भट्टराई २०७४ मा पनि गोरखा २ मै चुनाव लडेर तत्कालीन वामगठबन्धनका उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई हराएका थिए।

भट्टराईले नयाँ गठन गरेको नेपाल समाजवादी पार्टीमा पदाधिकारी, केन्द्रीय सदस्यहरू अद्यावधिक गर्न बाँकी छ। शनिबार भट्टराईले पार्टीको बैठक बोलाएका छन्।

‘पार्टीको शनिबार बस्ने बैठकले पार्टीका आन्तरिक विषय र चुनावका रणनीति तय गर्छ। सत्ता गठबन्धनमा रहेको भन्ने पनि जानकारी दिन्छ,’ ती नेताले भने।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।