आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ : ओली

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ : ओली

रौतहट । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार विकास विरोधी भएको आरोप लगाएका छन् । नेकपा एमाले रौतहटले सदरमुकाम गौरमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकारको आलोचना गरेका हुन् ।

‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । देशलाई निकास दिने भनेको एमाले नै हो,’ उनले भने,‘आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ ।’

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला रौतहटको विकासका लागि छनौट गरिएका धेरै योजनाहरु गठबन्धनको सरकारले हटाएको आरोप लगाए । ‘माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा रौतहटको विकासका लागि सिन्कासमेत भाँचेनन्,’ उनले भने,‘अहिले आएर ठूला कुरा गर्न थालेका छन् ।’ अरु पार्टीले २०–२५ वर्षमा गर्न नसकेको काम एमालेले ३ वर्षमा गरेर देखाएका दाबी गरे । ‘यही जिल्लाका नेपालले २१ महिना प्रधानमन्त्री हुँदा जिल्लाको विकासका नाममा सिन्को पनि भाँचेनन्,’ उनले थपे ।

Europass CV in Nepal

अध्यक्ष ओलीले तराई मधेसमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको सुनाए । उनले सभामा आफू मधेसविरोधी नभएको भन्दै मधेशका जनतालाई फकाएका थिए ।

‘म प्रधानमन्त्री हुँदा मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम भयो,’ उनले भने, ‘हुलाकी राजमार्ग भन्नुहोस् कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाए, धेरै काम भए ।’ उनले तराई मधेसको विकास र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नु पर्ने बताए ।

खराब मौसमका कारण अध्यक्ष ओली चढेको हेलिकप्टर सिमरामा अवतरण भएको थियो । त्यहाँ केहीबेर कुरेर ओली रौतहट आएका थिए । कडा सुरक्षाबीच ओलीले सभालाई सम्बोधन गरेका थिए ।

लोसपाबाट अघिल्लो स्थानीय तह निर्वाचनमा गौर नगरपालिकाबाट नगरप्रमुखमा चुनाव जितेका अजय गुप्तालाई अध्यक्ष ओलीले टीका लगाएर एमाले प्रवेश गराएका थिए ।

Europass CV in Nepal