एमसीसीमा १५ करोडको काम गर्न ४१ करोड खर्च

एमसीसीमा १५ करोडको काम गर्न ४१ करोड खर्च

२५ साउन, काठमाडौं । एमसीसीको आयोजना कार्यान्वयन गर्ने नेपालस्थित निकाय एमसीए नेपाल दोधारमा छ, कार्यालय होटल याक एन्ड यतिबाट सार्ने कि नसार्ने ?

सकेसम्म पाँचतारे होटलबाट नसर्नका लागि एमसीएले जोड लगाएको लामै समय भयो । तर, अर्थमन्त्री जनार्दन शर्माले हालसालै एमसीए नेपाललाई चालु खर्च घटाउन नयाँ ठाउँ खोजेर सरिहाल्न निर्देशन दिएका छन् । अझै एमसीएको अडान छ, ‘भएको ठाउँबाट सरेर कहाँ जाने, नयाँ ठाउँमा सुरक्षा प्रबन्ध कसरी हुन्छ ?’

अर्थमन्त्रीले सर्न निर्देशन दिनुको कारण हो, होटललाई बुझाइरहेको मासिक १४ लाख रुपैयाँ घर भाडा । वर्षमा झण्डै डेढ करोड रुपैयाँ भाडामै खर्चिने एमसीएको चालु खर्चको दर उच्च छ ।

उच्च तहका अधिकारीले मासिक ८ लाख रुपैयाँसम्म तलब बुझ्ने भएकाले एमसीए नेपालको चालु खर्च नियन्त्रणमा सरकारले चाहेर पनि ठूलो नियन्त्रण गर्न सक्दैन । तर, घरभाडा लगायतका खर्च घटाउन सकिने क्षेत्रमा अर्थ मन्त्रालयले पनि चासो दिँदै आएको छ ।

अहिलेसम्म अर्थमन्त्रालयले पटक–पटक एमसीए नेपाललाई सस्तो घरभाडा तिर्ने गरी अन्यत्र सर्न भनेको छ, तर दरबारमार्गस्थित याक एन्ड यतीमा रहेको कार्यालय एमसीएले तत्काल छोड्ने योजना बनाएको छैन ।

महँगो चालु खर्च

चालु खर्चको हिसाबले मिलेनियम च्यालेन्ज कर्पोरेसनको आयोजना कार्यान्वयन निकै महँगो परेको देखिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले पुँजीगत खर्च मात्रै १३ करोड रुपैयाँ गरेको छ । तर, करिब १५ करोड विकास बजेट खर्चिन एमसीए नेपालले करिब ४१ करोड चालु खर्च गरेको छ ।

गत आर्थिक वर्षसम्म यस आयोजनाले ४ अर्ब २९ करोड ६९ लाख रुपैयाँ बजेट पाएको थियो । तर, एमसीसीले पुँजीगत (विकास) खर्च दोहोरो अंकमा पुर्‍याउन सकेन । तर, त्यति न्युन विकास बजेट कार्यान्वयन गर्न चालुतर्फको करिब ५० प्रतिशत खर्च गरी छाड्यो ।

एमसीए नेपालले अहिलेसम्म ४ अर्ब ७७ करोड रुपैयाँ खर्च गरिसकेको छ । त्यसमध्ये २ अर्ब ७६ करोड रुपैयाँ नेपाल सरकारको स्रोतबाट खर्च भएको हो । त्यस्तै २ अर्ब १ करोड रुपैयाँ अमेरिकी सरकारको अनुदानबाट खर्च भएको छ ।

नेपाल सरकारले खर्च गरेकोमध्ये १ अर्ब ४४ करोड रुपैयाँ नुवाकोटको रातमाटेमा जग्गा अधिग्रहण खर्च भएको छ । त्यसबाहेकको खर्च प्रायः चालुतर्फकै छ ।