दाङमा माओवादी केन्द्रका सदस्य झण्डै बीस हजारः महिला ६ हजार, दलित झण्डै तीन हजार

दाङमा माओवादी केन्द्रका सदस्य झण्डै बीस हजारः महिला ६  हजार, दलित झण्डै तीन हजार

दाङमा नेकपा माओवादी केन्द्रले सदस्य संख्या झण्डै बीस हजार पुगेको छ। आज शनिबार वडा सम्मेलनको दिन सम्म कुल पार्टी सदस्यको  संख्या ९ हजार छ सय ७३ कायम भएको जिल्ला संयोजक तुलसीराम पुन ‘सुवास’ले जानकारी दिनुभयो ।

यसअघि नेकपा एमाले र माओवादी एक हुँदा तत्कालीन नेकपाले ४० हजार पार्टी सदस्यको सूचि केन्द्रमा पठाएको थियो । पार्टी विभाजनपछि एमालेले १३ हजार तीन सय ५४ पार्टी सदस्य संख्या कायम गरेको छ भने माओवादी केन्द्रले १९ हजार छ सय ७३ संख्या कायम गरेको छ ।

माओवादीका सबैभन्दा बढी घोराही उपमहानगरपालिकाका ४१८५ जना सदस्यको नाम अनलाइनमा दर्ता गरिएको छ भने दोस्रोमा तुलसीपुरमा तीन हजार सात सय ९० सदस्य छन् । त्यस्तै बबईमा ८७६, शान्तिनगरमा एक हजार एक सय ८९, दंगीशरणमा ६९२ र बंगलाचुलीमा एक हजार चार सय ५६ पार्टी सदस्य कायम भएको सो पार्टीले जनाएको छ ।

यसपटक माओवादी केन्द्रमा देउखुरीमा बढी आकर्षण देखिएको छ । लमहीमा दुई हजार एक सय तीन जनाले सदस्यता नवीकरण गराएका छन् । राप्तीमा एक हजार सात सय ७३ जनाले सदस्यता नवीकरण गराएका छन् भने गढवामा दुई हजार दुई ८६ जनाले सदस्यता नवीकरण गराएका छन् । राजपुरमा एक हजार तीन सय १३ जनाले सदस्यता नवीकरण गराएका छन् ।

जसमा पुरुष झण्डै १४ हजार र महिला झण्डै छ हजार रहेका छन् । दलित सहभागिता झण्डै दुई हजार पाँच सय देखिएको छ । समावेशिताका हिसाबले झण्डै तीस प्रतिशत महिला सदस्य देखिएका छन् भने दलित सहभागिता झण्डै १३ प्रतिशत देखिएको छ ।

देशभर पार्टी सदस्य संख्या आठ लाख

नेकपा (माओवादी केन्द्र)ले आज शनिबार देशभरका वडाहरुमा नेतृत्व चयन गर्दैछ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वडा सम्मेलनका लागि सबै तयारी पूरा भएको माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए।

आगामी पुस ११—१३ सम्म हुने राष्ट्रिय सम्मेलनको तीव्र तयारीमा भइरहेको र त्यसका लागि निर्वाचन नियमावली २०७८ र निर्वाचन आचारसंहिता २०७८ पनि पारित गरिएको श्रेष्ठले जानकारी दिए।

यस्तै निर्वाचन प्रयोजनका लागि देशभरका ६ हजार ७सय ४३ वडा, ७ सय ५३ पालिका र ७ वटै प्रदेशमा निर्वाचन समितिहरु गठन गरिएको पनि बताइएको छ । आयोगले प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ।

यस्तै निर्वाचन अनुगमनका लागि केन्द्रीय निर्वाचन आयोगका सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ । माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मको सम्मेलन सम्पन्न भएपछि करिब ३ लाख कार्यकताहरु विभिन्न तहमा निर्वाचित हुने जनाएको छ। ८ हजार भन्दा बढी समितिहरु गठन हुनेछन्।

मंसिर ११ गते सम्पूर्ण पालिका र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुने कार्यकतालिका बनाएको छ । माओवादीले करिब ८ लाख संगठित सदस्यले सदस्यता नवीरकण गरेको बताएको छ।

७ लाख ३५ हजारले अनलाइनमै इन्ट्री गरिसकिएको बताइएको छ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको लुम्बिनी प्रदेशका निर्वाचन समिति संयोजक रामशरण चौधरीले पार्टीको निर्वाचनको तयारी पूरा भएको बताएका छन् ।

प्रेस सेन्टर तुलसीपुरको आयोजनामा शुक्रबार तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा उनले भोलि(शनिबार)देखि हुन भेला तथा निर्वाचनको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशका सबै वडामा निर्वाचनकालागि सम्पर्क कार्यालय पनि स्थापना भइसकेका छन् ।

साथै उनले पार्टी पहिलो पटक निर्वाचन प्रणालीमा गएको बताए । मुलुक संघीयतामा गएसंगै सोही अनुसार कमिटिलाई सक्रिय बनाउनुकासाथै निर्वाचन प्रणालीलाई पनि सुधार गरेको बताए । उनले नयाँ विधान अनुसार निर्वाचन हुन लागेको भन्दै त्यसलाई सबै पार्टी कमिटिलाई जानकारी गराई सकेको समेत बताए । अब टोलदेखि माथिसम्म निर्वाचन मार्फत नै नयाँ नेतृत्व आउने उनको भनाई थियो ।

संगठनका अध्यक्ष राकेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको उपाध्यक्ष दीपक बोहराले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण सहसचिब सुमन केसीले गरेका थिए ।