बञ्चरेडाँडामा स्थानीय एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फोहोर खसाल्ने ठाउँ बञ्चरेडाँडामा अवरोध पुर्याएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।
‘पक्राउ परेकाको परिचय खुलिसकेको छैन,’ उनले भने, ‘तर उनले बाटोमा अवरोध पुर्याउन कोसिस गरेपछि पक्राउ गरिएको हो।’ काठमाडौं महानगरपालिकाको नगर प्रहरीका नायब उपरीक्षक पूर्णचन्द्रले भट्टले अहिले बञ्चरेडाँडामा फोहोर खसाउन थालिएको बताए।
‘आज पनि स्थानीयले केही अवरोध पुर्याउन खोज्नुभएको थियो,’ उनले भने, ‘सशस्त्र प्रहरी पनि खटाएर फोहोरका गाडी बञ्चरेडाँडामा पुर्याउने काम भइरहेको छ।’ भट्टका अनुसार बञ्चरेडाँडामा काठमाडौं, नुवाकोट, धादिङ प्रहरी र सशस्त्र प्रहरी गरी तीन सयको हाराहारीमा प्रहरी खटिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख र नुवाकोटका प्रहरीका प्रमुख पनि त्यहाँ खटिएका छन्।
आइतबार बिहानै तारेकश्वर नगरपालिका-३, आठमाइलको खोलाको मुहानमा फोहोर फालेको र दिउँसो गाडीले बाख्रा मारेको भन्दै बञ्चरेडाँडामा फोहोरका गाडी रोकिएका थिए।
मंगलबार पनि फोहोर बोकेर गएका गाडीलाई सिसडोल र बञ्चरेडाँडाको बीचमा पर्ने आलेटारमा रोकिएको थियो। केही समूहले दिनभरि डाँडामा बसेर गाडीमाथि ढुंगा हानेका थिए।
अवरोध हटाउन गएको प्रहरीमाथि नै ढुंगामुढा गरिएपछि पाँच राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताएका थिए।





