मुख्य सामग्रीमा जानुहोस्
Saturday, 10 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आन्दोलनरत कर्मचारीले कार्यालयमा कालोपट्टी बाँधेर काम गर्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । कर्मचारीमैत्री निजामती सेवा ऐन छिटो जारी गर्न माग गर्दै कर्मचारीहरुले आज सिंहदरबार प्रवेश गर्ने गेट अगाडि पर्चा वितरण गरेका छन् ।

प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विभिन्न माग राखी तयार गरिएको पर्चा सिंहदरबार भित्र जाने मन्त्री, सांसद, उच्च अधिकारी तथा सेवाग्राहीहरुलाई लक्षित गरी वितरण गरिएको छ।

नेपाल नेजामती कर्मचारी संगठनका उपमहासचिव रामचन्द्र अधिकारीले कर्मचारीहरु आन्दोलित हुनु परेको कारणबारे जानकारी दिन र कर्मचारी मैत्री ऐन जारी गर्न सरकारलाई दबाब दिन गेट अगाडि भेटिने सबैलाई पर्चा वितरणको कार्यक्रम आयोजना गरिएको बताए ।

उनका अनुसार सिंहदरबार प्रवेश गर्ने पूर्व, पश्चिम र दक्षिण गेट अगाडि पर्चा वितरणको कार्यक्रम राखिएको हो । आज बिहान साढे ९ बजेदेखि सुरू भएको यो काम बिहान साढे १० बजेसम्म जारी रहने छ ।

यसैगरी भोलिदेखि कालोपट्टी बाँधेर काम गर्ने, सबै सरकारी कार्यालय अगाडि कर्मचारीका माग लेखिएका कालो ब्यानर टाँग्ने कार्यक्रम तय गरिएको अधिकारीले बताए ।

नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन र जसपा निकट नेपाल मधेशी निजामती कर्मचारी मञ्चले संयुक्त ट्रेड युनियन सन्जालको ब्यानरमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

सन्जालले ११ बुँदे माग अघि सार्दै यही भदौ २ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । सोही कार्यक्रम अनुसार आज सिंहदरबारको गेट अगाडि पर्चा वितरण गर्ने र भोलि हातमा कालोपट्टी बाँधेर काम गर्न लागिएको हो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।