५ भदौ, काठमाडौं । काठमाडाैं महानगरपालिकाको नगर प्रहरी प्रमुख परिवर्तन भएका छन् । महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन)ले प्रमुखको जिम्मेवारीमा रहेका नगरप्रहरी उपरीक्षक(एसपी) रहेका धनपति सापकोटालाई हटाएर अर्का एसपी राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन् ।
काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ ।
नयाँ जिम्मेवारीपछि अनलाइनखबरसँग कुरा गर्दै नगरप्रहरी प्रमुख पाण्डेले आफूलाई दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पालाना गर्ने बताए । ‘म यसअघि पनि नगर प्रहरीकै काम गरिरहेको हो । थोरै जिम्मेवारी हेरफेर भएको मात्रै हो । पाएको जिम्मेवारी इमान्दारिताको साथ पुरा गर्छु नै ।’
यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन् ।