बन्द गराउँदै हिँडेको आरोपमा काभ्रेको बनेपामा एक जनालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् । मंगलबार बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन्।
पक्राउ पर्नेमा नरहरीनाथ नगरपालिका, कालिकोटका २४ वर्षिय पल राउत छन्। बन्द गराउँदै हिँडेका राउतले बसमा ढुंगा प्रहार गरेपछि आक्रोशित चालक र सहचालकसँगै त्यही जम्मा भएको स्थानीयले घेरेका थिए।
स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। लगतै स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए। पक्राउ परेका ती व्यक्ति चार कम्युनिष्ट पार्टीको मध्ये एक पार्टीको कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्र जोशीले सेतोपाटीलाई जानकारी दिए।
एसपी जोशीका अनुसार थप अनुसन्धानका लागि अहिले ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आव्ह्रान गरेको बन्दको प्रभाव काभ्रेमा शून्य रहेको उनले जानकारी दिए। ठाउँठाउँमा बन्दकर्ताहरुले सार्वजनिक सवारीहरुमा तोडफोड गरेका छन् भने अहिलेसम्म बन्द गराउँदै हिड्ने दुई दर्जनबढी बन्दकर्ता पक्राउ परिसकेका छन्।





