दाङ । दाङमा विप्लव सम्बद्ध नेकपा सहितको चार दलले आयाेजना गरेकाे बन्दकाे मौका छोपी आफ्नै गाडीमा आगजनी गर्ने चालक र सहचालक पक्राउ परेका छन्। उनीहरु बिमा रकमको लोभमा परी आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
चालकदल आफैंले आफ्नो आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ ।
विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उनले बताए । गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिए । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए ।





