‘बेसमेन्ट’ मा बनाइएका नबिल बैंक न्युरोड शाखाका संरचना हटाउन बालेनको निर्देशन

‘बेसमेन्ट’ मा बनाइएका नबिल बैंक न्युरोड शाखाका संरचना हटाउन बालेनको निर्देशन

काठमाडौँ । पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा नबिल बैंकले शाखा कार्यालय राखेपछि काठमाडौं महानगरपालिकाले बेसमेन्टमा बनाइएका संरचना हटाउन बैंकलाई निर्देशन दिएको छ ।

बुधबार न्युरोडमा महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले अनधिकृत रुपमा बनाइएको संरचना हटाउने क्रममा नबिल बैंकले पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा शाखा कार्यालय राखेको पाएपछि हटाउनका लागि निर्देशन दिइएको मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले ईकान्तिपुरलाई जानकारी दिए ।

शाहले बेसमेन्टमा सञ्चालन गरिएको शाखा कार्यालय गैरकानुनी रुपमा राखिएकाले हटाउनका लागि निर्देशन दिएको उनले बताए । उनले भने, ‘यो त सरासर उपभोक्ताहरूमाथिको खेलबाड हो । बेसमेन्टमा कहीँ शाखा कार्यालय हुन्छ ? हामीले तुरुन्तै हटाउन भन्दै ताकेता गरेका छौं । ‘

कानुन सबैलाई बराबर हुन्छ, नक्सा पास नभए अदालतमा पनि डोजर चल्छ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरभित्र बनेका सबै अनधिकृत संरचना भत्काउने प्रस्ट पारेका छन्। बुधबार न्युरोडस्थित आरबी कम्प्लेक्समा बनेको अनधिकृत संरचना हटाउन पुगेका मेयर साहले सबै अनधिकृत संरचना हटाउने बताएका हुन्।

महानगरको कदमले साना व्यापारीहरू मारमा परेका भन्ने व्यापारीहरूको गुनासोको जवाफमा उनले सबैलाई समान रूपमा कानुन लाग्ने उल्लेख गरे। नक्सा पास नगरी बनाएको पाइए काठमाडौं जिल्ला अदालतले समेत त्यस्ता संरचना भत्काउने भन्दै उनले भने, ‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने भन्ने हुँदैन, सबैलाई बराबर हुन्छ। हामीले जिल्ला अदालतलाई समय दिएका छौँ। जिल्ला अदालतको नक्सा पास छैन, उहाँहरूको पनि नक्सा पास भएन भने त्यहाँ पनि त्यही हुन्छ (डोजर चल्छ)।’

डोजर चलेका संरचना अवैध रूपमा बनाइएको भन्दै मेयर साहले त्यसबापत क्षतिपूर्ति नदिइनेसमेत प्रस्ट पारेका छन्।अनधिकृत रूपमा बनेका संरचनाका कारण पार्किङमा समस्या आउनुका साथै पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको गुनासो गरेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको छ।