काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह साताअघि नर्भिक अस्पतालको अवैध संरचना भत्काउन डोजर लिएर पुगेका थिए। तर उनले त्यहाँको संरचना भत्काउन सकेनन्, चेतावनी दिएर फर्किए। लगत्तै नर्भिक सर्वोच्च पुगेर आफ्नो पक्षमा अन्तरिम आदेश लिन सफल भयो।
नर्भिकमा रोकिएका बालेन्द्र त्यसयता भने अवैध संरचना भत्काउने अभियानमा आक्रमक रुपमा लागेका छन्। नयाँ बानेश्वरस्थित बानेश्वर प्लाजाको अन्डरग्राउण्ड पार्किङमा पसल चलाएपछि उनले भत्काउने अभियान सुरु गरेका थिए।
अवैध संरचना हटाउनेबारे गोरखापत्रमा छापिएको ३५ दिने सूचनाको एक कपी उनको हातमै छ। जहाँ डोजरसहित बालेन्द्र पुग्छन्, त्यही सूचनाको कपी पनि देखाइहाल्छन्।
गत मंगलबार केही कम्युनिस्ट दलले घोषणा गरेको नेपाल बन्द थियो। त्यो दिन बालेन्द्र पनि कहिँकतै निस्किएनन्। काठमाडौंका कतैपनि डोजर पनि देखिएन्।
बुधबार कार्यालय समय सुरु हुनेबित्तिकै सुन्धारास्थित काठमाडौं मल अगाडि डोजरसहित पुगे थिए। सुन्धाराबाट न्युरोड हुँदै दरबारमार्ग पुगेर बालेन्द्रले कहीँ डोजर चलाए त कहीँ संरचना तुरुन्तै हटाउन निर्देशन दिए। साँझ कोटेश्वरका केही फुटपाथ र पसलहरु हटाउन निर्देशन दिएका बालेन्द्र बिहीबार बिहानदेखि नयाँ बानेश्वर आसपासमा ब्यस्त देखिए।
अल्फाको ‘रमिता’
नयाँ बानेश्वरबाट बुद्धनगरको बाटो हिँड्दै गर्दा भेटिने ‘अल्फा कम्प्लेक्स’ मा बनेका संरचना भत्काउन बालेन्द्रले बिहीबार दिनभर निकै रस्साकस्सी गर्नपर्यो। बिहीबार बिहान कार्यालय समय सुरु हुनेबित्तिकै ट्राफिक प्रहरी प्रमुख डीआईजी मीरा चौधरी र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित सुरक्षा प्रहरी लिएर शंखमुल हानिए।
शंखमुलमा रहेको बर्गर हाउसमा बेसमेन्ट तुरुन्तै खाली गराउन निर्देशन दिएर वरपरका केही पसलमा मेयरसहितको टोली छिर्यो। त्यहाँका केही संरचना तत्काल हटाउन निर्देशन दिएर बालेन्द्रको टोली सिधै नयाँ बानेश्वर हानियो।
‘अल्फा हाउस’ अगाडि सडकपेटीमा गरिएको पार्किङका तस्बिरसहितको सामाचार सामाग्री नेपालखबरमा केहीदिनअघि प्रकाशित भएको थियो। समाचार सामग्रीबारे आफूहरुको ध्यानाकर्षण भएको भन्दै ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित निकायमा खबर गरेको जनाएको थियो।
लगत्तै, मेयर शाह संरचना हटाएर पार्किङ खुलाउने निर्देशन दिन अल्फा हाउस पुगेका हुन्। बालेन्द्र अल्फा हाउस पुग्दै गर्दा क्यामेराबाट घेरिएका थिए। तर, त्यहाँ मिडियाबाजी गरेको भन्दै संचालक द्विराज शर्माले आपत्ति जनाए। त्यसपछि बालेन्द्र शाह आक्रोशित भए।
केहीबेर शर्मा र शाहबीच अल्फा परिसरमै घम्साघम्सी भयो। शर्माले ‘तपाईं डन हो?’ भन्दै प्रश्न गरेपछि बालेन्द्र थप आक्रोशित भए। केहीबेर चर्काचर्की गरेर फर्किएका बालेन्द्र तुरुन्तै कार्यालयमा पुगेर त्यहाँको नक्सा हेरे। नक्सा हेरेपछि बालेन्द्र पुनः अल्फा हाउस पुगे। बालेन्द्र अल्फा पुग्नुअघि नै नेपाल प्रहरी र नगर प्रहरी तैनाथ थिए। सँगै डोजर पनि पुगिसकेको थियो।
नक्सा बोकेर अल्फामा एक ‘राउण्ड’
बालेन्द्र हातमा सोही घरको नक्सा बोकेर त्यहाँ पुगेका थिए। बालेन्द्र पुग्नेबित्तिकै केहीबेर माहोल आक्रमक बन्यो। अल्फा बिटा प्रशासन र अवैधानिक रुपमा बनाइएको फार्मेसीका कर्मचारीहरु बालेन्द्रसँग हारगुहार गर्न थाले। केही दिन समय माग्दै उनीहरुले मेयर बालेन्द्रसँग अनुनय–विनय गरे।
तर, मेयर शाह रोकिएनन्। बरु अल्फा कम्प्लेक्सकै नक्सा बोकेर बालेन्द्र राउण्ड मार्न थाले। अल्फा कम्प्लेक्सभित्र छिरेर उनले भत्काउनुपर्ने ठाउँ नक्सामा देखाउँदै इसारा गर्न थाले। नगर प्रहरी प्रमुख पाण्डेलाई बोलाएर तुरुन्तै डोजर चलाउन निर्देशन दिए। त्यसपछि बाहिर निस्किएका बालेन्द्र नक्साको कपी मिडियासामु प्रदर्शन गर्न थाले।
‘स्ट्रक्चरल इन्जिनियरिङ’ले सजिलो
बालेन्द्रको ठाउँमा अरु कोही इन्जिनियरिङ क्षेत्रको जानकारी नभएका मेयर थिए भने सायद त्यसरी नक्सा प्रदर्शन गर्दैनथे। महानगरबाटै इन्जिनियरिङ फिल्डका अन्य कर्मचारीको सहायतामा नक्सा हेर्ने र ठाउँ छुट्याउने गर्नुपर्थ्यो। तर, बालेन्द्रलाई त्यस्तो परेन। उनी आफैं नक्सा बोकेर सबैलाई त्यसबारे जानकारी दिन थाले।
बालेन्द्रले ‘स्ट्रक्चरल इन्जिनियरिङ’मै अध्ययन गरेको बताउँदै आएका छन्। आफ्नो विधाको अध्ययन बालेन्द्रलाई अल्फा हाउस भत्काउँदा राम्रै काम लाग्यो। उनले भत्काउनुपर्ने संरचना औँलाले नै संकेत गरेर प्रष्ट पारे। डोजर चलाएर निस्किएपछि बालेन्द्रले फेसबुकमार्फत भनेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ।’ नेपालखबरबाट





