काठमाडौँको फोहोर विसर्जन गर्न ४ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँको फोहोर विसर्जन गर्न ४ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ ।  गत साउन २३ गते राति पार्किङ गरेर राखिएका फोहोर बोकेका १४ वटा टिपर र फोहोर व्यवस्थापनमा प्रयोग हुँदै आएका ३ वटा एक्सकाभेटर अज्ञात समूहले तोडफोड गर्‍यो । सिसडोल तथा बन्चरेडाँडा ल्यान्डफिल साइट सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै पर्ने कोल्पु खोला किनारमा ती सवारी पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको थियो ।

एक्सकाभेटर महानगरपालिकाको भएपनि अन्य १४ वटा टिपर भने निजी कम्पनीले भाडामा सञ्चालन गरेका टिपर तोडफोड भए । तोडफोड गरेको आरोपमा प्रहरीले केही दिनपछि स्थानीयलाई पक्राउ गर्‍यो भने अन्य केहीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भयो ।

सोही विषयलाई लिएर धुनिबेंसी–१ का स्थानीय राजनीतिक दल र स्थानीय आन्दोलनमा उत्रिए । सबै पक्षसँग महानगरको टोलीले सहमति गरेपनि साउन २८ गतेदेखि उपत्यकाको फोहोर नियमित रुपमा उठ्न थालेको छ ।

काठमाडौं महानगरपालिकाले तोडफोड भएका ती निजी सवारी साधनको खर्च बेहोर्नुपरेको छ । १४ वटा टिपरका सिसा तथा अन्य सामान तोडफोड भएपछि महानगरले मर्मतसम्भार गर्दा करिब ८ लाख रुपैयाँ खर्च भएको छ । महानगरको यन्त्र तथा उपकरण महाशाखाले १४ वटा गाडीको मर्मत खर्च ८ लाख रुपैयाँको हाराहारीमा आएको जनाएको छ ।

मेयर बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाह तत्कालीन अवस्थामा फोहोर नउठ्दा भयाभयपूर्ण अवस्था भइरहको बेला तोडफोड भएपछि त्यसको नैतिक जिम्मेवारी महानगरपालिकाले लिएकाले निजी क्षेत्रको खर्च बेहोरिएको बताए । उनले भने, ‘खासको खर्चको भर्पाई निजी क्षेत्रले नै गर्नुपर्थ्यो । उनीहरुले कहिले बनाउने/नबनाउने ठेगान नभएपछि हामीले नै अग्रसर भएर खर्च बेहोरेर फोहोर उठाउने गाडीको मर्मत गरेका हौं । यसमा हामीले नैतिक जिम्मेवारी लिएका हौं । ’

यस्तै, महानगरको आफ्नै मेसिनको मर्मत गर्दा ३ लाख हाराहारी लाग्ने अनुमान गरिएको छ । हाल तोडफोड भएका मेसिनमा सिसा फिट नै नगरी फोहोर व्यवस्थापनमा सञ्चालन गरिरहेको छ ।

महानगरकी वातावरण विभागकी प्रमुख सरिता राईले भनिन्,‘१४ वटा गाडी निजी हुन् । निजी कम्पनीले भाडामा लगाएको गाडीको मर्मत सबै महानगरले गरिदिनुपर्‍यो । निजी क्षेत्र चुप लागेर मौन बसेका छन् । ’

साउन २८ गतेदेखि भदौ ११ गतेसम्म बन्चरेडाँडा ल्यान्डफिल साइटमा ३ हजार ४ सय ७१ टिपर फोहोर विसर्जन भएको छ । उक्त फोहोर विसर्जन गराउन ४ हजार २ सुरक्षाकर्मी परिचालन भएका छन् । साउन २८ गतेयता बढीमा ४ सय र घटीमा २ सय जना सुरक्षाकर्मी परिचालन नियमित रुपमा फोहोर व्यवस्थापन सुरक्षार्थ परिचालन भइरहेका छन् ।

साउन २८ र ३१ ग्ते ४ सय जना सुरक्षाकर्मी परिचालन भएका थिए । यस्तै, साउन ३० र भदौ १, ४ र ५ गते दैनिक ३ सय जना सुरक्षाकर्मी परिचालन भएको महानगरको तथ्यांकमा छ । यस्तै, भदौ २, ३, ७, ९ र १० गते दैनिक २५० जना सुरक्षाकर्मी फोहोर विसर्जनमा प्रयोग भएका थिए ।

सवारी साधनमा तोडफोड भएपछि सरकारले सुरक्षाकर्मीको संख्या ह्वात्तै बढाएको हो । यसअघि नियमित रुपमा ४०/५०को हाराहारीमा सुरक्षाकर्मी परिचालन हुने गरेको महानगरका इञ्जिनियर सरकारदिप श्रेष्ठले जानकारी दिए । महानगरको नगर प्रहरी, काठमाडौं, धादिङ र नुवाकोटबाट खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी फोहोर विसर्जन गराउनका लागि परिचालन भइरहेका छन् । यसअघि १५ जना सशस्त्र प्रहरी, ८/१० जना नेपाल प्रहरी परिचालन हुने गरेको इञ्जिनियर श्रेष्ठले जानकारी दिए ।

महानगरपालिकाले फोहोर व्यवस्थापनमा अवरुद्ध भएको भन्दै सुरक्षाका लागि गृह मन्त्रालयलाई पत्र काटेपछि सुरक्षाकर्मीको संख्या बढाइएको हो । यसअघि ८ जना मात्रै रहने ओखरपौवा प्रहरी चौकीमा हाल इन्सपेक्टरको कमान्डमा ३५ जना प्रहरी खटाउन थालिएको छ । यस्तै, १६ जना मात्रै सशस्त्र प्रहरी रहेको बेस क्याम्पमा अहिले २५ जनालाई ढुक्कै खटाउन थालिएको छ ।

सामान्य अवस्था हुँदा वर्षायाममा बन्चरेडाँडामा सयदेखि डेढ सय टिपर फोहोर विसर्जन हुने गर्छ । त्यो संख्याभन्दा बढी टिपर फोहोर आउँदा उपत्यकामा फोहोरको मात्रा धेरै रहेको भान हुने श्रेष्ठले बताए । फोहोर उठाउनका लागि डेढ सयवटा गाडी प्रयोग हुने गरेका छन् ।