काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेका छन्। उनले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध गराउने प्रस्ताव गरेका हुन्।
महानगरको आज बसेको नगर कार्यपालिकाको आठौं बैठकमा शाहले कक्षा ७ र ८ मा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउने प्रस्ताव गरेका छन्। शाहले नेपाल सरकारको तर्फ बाट कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई १५ रुपैयाँ दिइरहेको र काठमाडौ महानगरले १० रुपैयाँ थप गरी दिने प्रस्ताव गरेका हुन्।
नगर प्रहरीको भत्ता बढाउने
काठमाडौं महानगरपालिकाको आठौं नगर बैठकले नगर प्रहरीको दैनिक भत्ता बढाउने प्रस्ताव गरेको छ। बैठकले सडकमा फुटपाथ नियन्त्रणका लागि खटिने नगर प्रहरीको भत्ता बढाएर पाँच सय पुर्याउन प्रस्ताव गरेको छ।
महानगरले यसअघि नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको थियो। काठमाडौं महानगरका मेयर बालेन शाहको निर्देशन पछि सह-प्रवक्ता महेश काफ्लेले उक्त प्रस्ताव पेश गरेका थिए। यस्तै काफ्लेले महानगरमा करार र अस्थायी गरी १३२ जना कर्मचारीहरू भएको बताए। ती कर्मचारीहरूको पनि सामाजिक सुरक्षा कोषमा पठाउन प्रस्ताव गरेका छन्।
यस्तै फुड टेक्नोलोजी पढेका विद्यार्थीहरूलाई रेष्टुराको खाना जाँच गर्न ‘फुड इन्सपेक्टर’ को रूपमा राखिने बताए। उनीहरूले मासु पसल, तरकारी पसलमा र रेष्टुरेन्टमा खाद्यान्नको निरीक्षण गर्ने बताए। त्यसका लागि पाँच जना करारमा कर्मचारी राखिने प्रस्ताव पेश गरेको छ।
बैठकमा डेंगु नियन्त्रण र रोकथामका लागि पनि काम गरिरहेको बताए। त्यसका लागि पानी जमेको ठाउँमा चुनको प्रयोग भइरहेको र खाल्डाखुल्डी पुर्ने काम भएको बताए। डेंगु नियन्त्रणका लागि जनचेतना फैलाउने काम भइरहेको उनले बताए।



