काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई तीव्र पारेको छ । सोमबार महानगरपालिकाको टोली न्यूरोडको विशाल बजार पुगेको छ । महानगरको टोलीले विशाल बजारलाई नक्सासहित वडा कार्यालयमा उपस्थित हुन २४ घन्टे अल्टिमेटम दिएको छ।
नक्सापास नै नगरी पार्किङ र अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु भत्काउने अभियानलाई महानगरले निरन्तरता दिएको छ । महानगरले आज न्यूरोड र बसन्तपुर क्षेत्रमा रहेका भवनहरुको बेसमेन्ट खाली गराइरहेको छ । आजै महानगरले सुरज आर्केडलाई बेसमेन्ट खाली गराउन २४ घन्टे अल्टिमेटम दिएको छ।
बिरा कम्प्लेक्समा महानगरलाई व्यवसायीको अवरोध
काठमाडौंको न्यूरोडमा रहेको बिरा कम्प्लेक्समा महानगर प्रहरी र व्यवसायीबीच घम्साघम्सी भएको छ । सोमबार अवैध संरचना अनुगमन गर्न पुगेको महानगर प्रहरीसहितको टोलीलाई व्यापारीहरुले अण्डरग्राहउण्ड पार्किङको मुखैमा अवरोध गरेका छन् ।
भित्र रहेको होलसेल पसल अनुगमन गर्न पुगेको महानगर प्रहरी व्यापारीको अवरोधका कारण प्रवेशद्वारमै रोकिएका छन् । महानगरले बिरा कम्प्लेक्सको भुईंतलामा रहेको पसलहरु अवैध रहेको बताएको छ ।



