बालेन शाहको डोजर आतंक रोकिनुपर्छ : एमाले नेता बस्नेत

बालेन शाहको डोजर आतंक रोकिनुपर्छ : एमाले नेता बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई डोजर आतंक नरोके उपत्यका बस्न लायकको नरहने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन्। उनले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताए।

केही मानिसले साथ दिए भन्दैमा कानुन मिचेर जनतालाई दुःख दिने काम नगर्न पनि उनले चेतावनी दिएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा ध्वंसात्मक गतिविधि नगरी निर्माण गरेरै सुन्दर बस्ती बनाएको बस्नेतको दाबी छ।

उनले निर्माणबाट नै सुन्दरता ल्याउन सकिन्छ भन्ने कुरा हेर्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा जान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई सुझाव दिएका छन्।

उनले भने, ‘नक्सापास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भनेर काठमाडौं भित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन। बस्न नालायक ठाउँ हुन्छ। भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ। मिडियाका ४ हजार साथि लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानुन मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिइकन जनतालाई दुःख दिने काम नगरौं। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमुना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस्।’

त्यस्तै, नेता बस्नेतले एमालेले आगामी निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष ओलीलाई अघि सारेको स्पष्ट पारे । उनले यसअघि ओलीको नेतृत्वमा दुई तिहाई बहुमत नजिक मत पाएको र माधव, प्रचण्डले ओली सरकारविरुद्ध चलेखल गरेको आरोप लगाए । उनले भने,“उहाँले आफ्नो कार्यकाल पूरा गर्न पाउनुभएन, हामीले केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा उभ्याउने निर्णय गरेका छौं ।

अहिले हामी संगठन सुदृढीकरण गरिरहेका छौं । एमाले अहिले पनि पहिलो दल हो । अबको निर्वाचनमा पनि पहिलो नै हुन्छ । स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत भोट ल्याएका छौं । अब ४० प्रतिशत पपुलर मत ल्याउँछौं ।”

उनले एमाले अहिलेपनि कमजोर नरहेको स्पष्ट पारे । उनले भने,“यो बीचमा गठबन्धनले जनताको हितविपरित काम गरेको छ । भ्रष्टाचार गरेको छ। मल अभाव, पुस्तक अभाव भएको छ । यी ईस्युलाई हामीले सही ढंगले व्यवस्थापन गर्दा, १४ महिनाका उहाँहरुको अलोकप्रिय कामले हामीलाई फाईदा हुन्छ । ७० भन्दा बढि सिट बढि जित्छौं । सरकार बनाउन बहुमत पुग्ने हाराहारीका साथ अघि बढेका छौं ।

एमालेले गठबन्धन नगर्ने मोडालिटी बनाएको छ । तर, स्थानीय तहको आवश्यकत्ताको आधारमा पनि जान सकिन्छ । निर्वाचनलाई जनताको हितमा उपयोग गर्छौं । मुलुकको समृद्धि नै हाम्रो एजेण्डा हो ।”

बस्नेतले संघीयता र धर्मनिरपेक्षताजस्ता मुद्दा अब रिभ्यु गर्नुपर्छ भनेर पनि आवाज उठाउन थालिएको सुनाए । र, यो विषय आउँदो सदनको महत्व्पूर्ण एजेण्डा हुने उनको भनाई छ । उनले यसपटकको निर्वाचनमा मुलुक र जनतालाई काम नलाग्ने मान्छे निर्वाचित नहुनपनि सक्ने स्पष्ट पारे ।