मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

माओवादीले कुलमानलाई उम्मेदवार बनाउन चाहेको हो ?

Santosh Dangi 1 मिनेट पढाइ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टी कार्यकर्तामाझ भनिदिए, ‘बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं । सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।’

२०७४ मा एमालेसँँग वाम गठबन्धन गरेको माओवादीबाट ललितपुर-३ मा पम्फा भुसाल निर्वाचित भइन् । यो पटक कांग्रेससँग गठबन्धन गर्ने तयारीमा रहेको माओवादीले उपत्यकामा थप सिट जित्न चाहेको छ, तर त्यो सहज छैन ।

उपत्यकामा पार्टीको गिर्दो अवस्था सुधार गर्नका लागि नीतिगत र संगठनात्मक संरचना सुधार गर्ने प्रचण्डले बताएका छन् । चुनावी नतिजा निकाल्न नयाँ-नयाँ अनुहारलाई उम्मेदवारका रुपमा समेत अघि सार्ने प्रचण्डको दाबी छ ।

प्रचण्डले नै नयाँ उम्मेदवार अघि सार्ने बताएपछि माओवादी नेताहरुमा त्यस्तो पात्र को होला भनेर खोजी भएको छ । माओवादी, काठमाडौंका नेता हिमाल शर्माका अनुसार संगठनमा पनि त्यस्तो पात्र को होला भनेर छलफल भएको छ ।

प्रचण्डले भने जस्तो आफूहरुको माग पनि नयाँ-नयाँ अनुहारलाई अवसर दिनुपर्ने भएको भन्दै उनले भने, त्यस्तो खालका पात्रहरु पार्टीभित्र पनि छन्, बाहिर पनि छन् ।’

माओवादी नेताहरुका अनुसार यसरी छलफल हुने सम्भावित उम्मेदवारमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि हुन् । यसबारे न माओवादीले निर्णय गरेको छ, न कुलमानले उम्मेदवार हुने चाहना सार्वजनिक गरेका छन् । निकटवर्तीहरुका अनुसार कुलमानलाई माओवादी मात्रै हैन, अरु दल र स्वतन्त्र अभियन्ताहरुले पनि चुनाव उम्मेदवार बनाउन चाहेको सन्देश पुर्‍याएका छन् ।

माओवादी नेता हिमाल शर्मा, कुलमानले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहे माओवादीले स्वागत गर्ने बताउँछन् । ‘उहाँ (कुलमान)ले कसरी सोच्नुहुन्छ भने अझै प्रष्ट भएको छैन,’ उनले अनलाइनखबरसँग भने, ‘उहाँ आउने नै हो भने हामी काठमाडौंको जुन सुकै क्षेत्रमा उम्मेदवार बनाउन तयार छौं ।’

कुलमान हाल बौद्ध क्षेत्रमा बस्छन् । यो प्रतिनिधिसभाको काठमाडौं क्षेत्र नम्बर ३ मा पर्छ ।

उनको पुर्ख्यौली घर रामेछाप हो । यहाँ हाल युवराज चौलागाई सम्भावित उम्मेदवार हुन् । तर कुलमानले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने र रामेछापबाटै उम्मेदवार बन्न चाहेको अवस्थामा माओवादीले ‘नाइ’ भन्ने अवस्था छैन । यता, विद्युत प्राधिकरणको नेतृत्व गरिरहेका कुलमान स्वयं भने सांसद बन्नकै लागि चुनाव लड्ने सम्भावना आफूले कम देखेको माओवादीका एक पदाधिकारीले बताए ।

Avatar photo
Santosh Dangi

Santosh Dangi is an executive editor and co-founder of himalipatrika.com, a news portal of Himali Media Group.

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।