अरु नेता जस्तै मलाई पनि चोर नै रहेछ भन्ने मौका तपाईंहरूलाई दिन्न : राजेन्द्र लिङ्देन

अरु नेता जस्तै मलाई पनि चोर नै रहेछ भन्ने मौका तपाईंहरूलाई दिन्न : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताएका छन्। काभ्रेको भकुण्डेवेशीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले आफू सबै प्रकारका अग्नि परीक्षामा खरो ढंगले उत्रने बताए।

मंसिर ४ मा हुने चुनावबाट ‘नेपाललाई तीन दशकदेखि बन्धक बनाइआएका दलहरू’लाई मुक्त गर्नुपर्ने लिङ्देनले बताए। दलहरूको सिण्डिकेट अन्त्य हुनुपर्ने उनको भनाइ थियो।

उनले भ्रष्टाचार अन्त्य हुनुपर्ने पनि बताए। ‘एक रूपैयाँ भ्रष्टाचार गरेको कसैले प्रमाणित गरे म उसको नोकर भएर बस्न तयार छु,’ उनले भने, ‘थुक्क राप्रपा, राजेन्द्र लिङ्देन यो पनि चोर रहेछ भन्ने मौका तपाईंहरूलाई दिने छैन।’ उनले जनताका विश्वासमाथि कुनै कुथराघात नहुने बताए। भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर आफू हिँडेको उनको भनाइ थियो।

निष्ठा र संस्कारको राजनीति गर्ने संकल्प आफूले लिएको उनले बताए। चुनावमा सहयोग गर्न पनि उनले जनतालाई अपिल गरेका छन्। ‘पटकपटक असफल भएका भ्रष्ट नेतालाई होइन, एकपटक हामीलाई सहयोग गर्न अपिल गर्छु,’ अध्यक्ष लिङ्देनले भने।

उनले जनताको हातमा निर्णायकत्व यो चुनावबाट ल्याउनुपर्ने पनि बताएका थिए। सीमित राजनीतिक दल र केही नेताले देशलाई सिण्डिकेट र मुठीमा राखेको उनको आरोप थियो। उनले कांग्रेस, एमाले, माओवादी कुनै पार्टीको भएर नभई जनताले यो चुनावलाई दलको सिण्डिकेटबाट मुक्त गर्ने अभियानका रूपमा उपयोग गर्नुपर्ने बताएका थिए।