कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति

कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति

कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार कमेडियन सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।

नेवा समुदायको भाषा, खाना, संस्कृतिलाई लक्षित गर्दै व्यंग्य गरेको भन्दै उनीविरूद्ध अभियन्ताहरूले कारबाहीको माग गर्दै परिसरमा जाहेरी दिएका थिए। जाहेरीपछि आइतबार परिसर पुगेका सिंहलाई प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका सिंहमाथि अनुसन्धान थालेको परिसरले जनाएको छ। प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेदको १०को दफा १६५ को सामाजिक रितिस्थितिमा खलल पुर्‍याउन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ।

गत शुक्रबार युट्युब च्‍यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडिओ हालिएको थियो। जसमा नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका हुन्।

भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। विरोध भएपछि सिंहले सो भिडिओ युट्युब च्यानलबाट हटाइसकेका छन्। यस्तै उनले शनिबार नै फेसबुकमार्फत् माफी मागेका थिए। भिडिओमार्फत् पनि उनले माफी मागेका थिए।