गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस

गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस

१८ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

‘काठमाडौं-४ बाट महामन्त्री गगन थापाको मात्रै नाम सिफारिस गर्‍यौं,’ क्षेत्रीय सभापति श्यामकृष्ण संगतले भने, ‘सर्वसहमतिले उहाँको नाम जिल्ला कार्यसमितिमा पठाएका छौं ।’ यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो । तर, थापाले आफू काठमाडौं ४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।

२०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार एमालेका डा.राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

रुपन्देही-२ बाट गृहमन्त्री खाणसहित ३ जना सिफारिस

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ गृहमन्त्री बालकृष्ण खाण रुपन्देही-२ बाट सिफारिस भएका छन् । नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो ।

खाण २०७४ को निर्वाचनमा समानुपातिकमा थिए । रुपन्देही-२ मा २०७४ सहित त्यसअघिका तीनवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन् ।कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले गृहमन्त्री खाण रुपन्देही ३ बाट पनि सिफारिस हुन सक्ने बताए । गिरी २०७४ को चुनावमा पौडेलसँग पराजित भएका थिए ।

चुन्नुप्रसाद पौडल निजी अस्पताल, चाउचाउ, हाउजिङ, होटेल र सुर्तीलगायत उद्योगका सञ्चालक हुन् । यस्तै रुपन्देही ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा कांग्रेसले प्रमोद यादवलाई एकल सिफारिस गरेको छ । उनी २०७४ को चुनावमा निर्वाचित भएका थिए ।