भ्रष्टाचार आरोपमा निलम्बित गच्छदार कांग्रेसबाट सर्वसम्मत सिफारिस

भ्रष्टाचार आरोपमा निलम्बित गच्छदार कांग्रेसबाट सर्वसम्मत सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा निर्वाचनका लागि भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित विजय गच्छदारलाई नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस गरेको छ।

सुनसरी क्षेत्र नम्बर ३ को शनिबार बसेको बैठकले गच्छदारलाई फेरि उम्देवारका रुपमा एकल नाम सिफारिस गरेको हो। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका गच्छदारको सांसद पद अहिले निलम्बवनमा छ।

अदालतले अन्तिम फैसला गरि नसकेको अवस्थामा गच्छदार उमेदवार बन्ने नबन्ने अन्यौल थियो। तर गच्छदारको प्रभावका कारण अन्य आकांक्षीको नाम काटेर उनको मात्रै सिफारिस गरिएको बैठकमा सहभागी एक नेताले बताए।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मेहदी हुसैनले सहमतिमै गच्छदारको एकल नाम सिफारिस भएको बताए। अदालतमा मुद्दा विचाराधीन रहे पनि आफूलाई चुनावमा उम्मेदवार बन्न नरोक्ने भन्दै गच्छदारले आफू नै चुनाव उठ्ने अडान लिएका थिए। गच्छदारले जनादेशले आफूमाथि लागेको आरोप चिर्ने भन्दै पार्टीबाट उम्मेदवार बन्न पाउनु पर्ने प्रस्ताव राखेका थिए।

भ्रष्टाचार मुद्दा

०७४ को आमनिर्वाचनबाट सांसद निर्वाचित भएका उनीविरुद्ध ०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा लाग्यो। ललिता निवासको जग्गा प्रकरणमा अनियमितता अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान विशेष अदालतमा मुद्दा चलाएपछि गच्छदारको सांसद पद निलम्बित अवस्थामा छ।

ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा अनियमतिता गरेको आरोपमा मुद्या दायर गरेपछि उनी फरार भएका थिए। तर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि २०७८ साल असार २८ गते उनी विषेश अदालतमा हाजिर भएका थिए। त्यही दिन उनी १० लाख रुपैयाँ धरौटी बुझार रिहा भएका थिए। नेपालखबरबाट