प्युठानमा नेकपा एमालेले उम्मेदवारका लागि सूर्य थापाको नाम सिफारिस

प्युठानमा नेकपा एमालेले उम्मेदवारका लागि सूर्य थापाको नाम सिफारिस

२० भदौ,बुटवल । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्युठानमा नेकपा एमालेले उम्मेदवारका लागि सूर्य थापाको नाम सिफारिस गरेको छ । थापा पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुन् ।

सोमबार पार्टी कार्यालय बिजुवारमा बसेको जिल्ला कमिटीको बैठकमा संविधानसभा सदस्य हिरा बहादुर केसीले थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । बैठकले उनको एकल नाम सिफारिस गरेको जिल्ला अध्यक्ष विजय विराज विष्टले जानकारी दिए ।

एमालेले प्रदेश सभा (क)मा तुल्सीराम शर्मा र (ख) मा केन्द्रीय सदस्य एवं प्यूठान सह-इन्चार्ज हरि रिजाललाई सर्वसम्मत सिफारिस गरेको अध्यक्ष विष्टले बताए । प्युठानमा सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चाले दुर्गा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै वामदेव गौतम पनि प्युठानबाटै चुनाव लड्ने चर्चा छ ।

जसपाले गर्‍यो पर्साका सबै क्षेत्रमा उम्मेदवार सिफारिस

जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला समन्वय समितिले ४ वटै निर्वाचन क्षेत्रका लागि आकांक्षी उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरेको छ । क्षेत्रीय भेला तथा बैठकहरुबाट सिफारिस भएर आएका तथा जिल्लामा निवेदन दिएकाहरुको समेत नाम प्रदेशमा सफारिस गरिएको जसपा पर्साले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यमा भने पार्टी अध्यक्ष उपेन्द्र यादव समेतको नाम सिफारिस भएको छ । पर्सा क्षेत्र नं. ४ का लागि पार्टी अध्यक्ष यादव र जिल्ला सचिव तवरेज अहमदको नाम सिफारिस भएको छ ।

पर्सा क्षेत्र नं. १ का लागि वन तथा वातावरण मन्त्री प्रदीप यादवको नाम सिफारिस भएको छ । मन्त्री यादव २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । तत्कालीन सघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका उनले २१ हजार १ सय ३२ मत पाएका थिए भने निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका अनिल रुंगटाले १६ हजार ४ सय ८१ मत ल्याएका थिए ।