काठमाडौं। वरिष्ठ कलाकार हरिवंश आचार्यले शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रतिनिधि सभाको चुनाव लड्न लागेको भन्दै बधाई दिए।
प्राधिकरणले आयोजना गरेको ‘विद्युत खपत प्रवर्द्धन कार्यक्रम’लाई सम्बोधन गर्दै कलाकार आचार्यले भने,’कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनर्नियुक्तिका लागि स्टाटस लेख्यौं। धेरै राम्रो फीडब्याक आयो। राम्रो मान्छेलाई जसले पनि लैजान चाहन्छ। उहाँलाई शुभकामना छ।’
केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौंमा बालेन्द्र शाहभन्दा बढी सेन्टिमेन्ट भएका उम्मेदवार ल्याउने घोषणा गरेका थिए। त्यसको लगतै कुलमानलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउन केही नेताले प्रचण्डलाई सल्लाह दिएका थिए। योसँगै कुलमान राजनीतिमा आउने चर्चा चलिरहेको छ।
तर कुलमान आफैंले भने कुनै अभिव्यक्ति दिएका छैनन्। उनी राजनीतिमा जाने/नजाने निश्चित भइसकेको छैन। तर प्राधिकरणभित्र कुलमानको उत्तराधिकारी बन्न भने प्रतिस्पर्धा सुरु भइसकेको छ। त्यही प्रतिस्पर्धाले पनि कुलमानको बाटो राजनीति नै बन्ने संकेत भने देखिइसकेको छ। कुलमान बाहिरिने चर्चासँगै ऊर्जामन्त्री पम्फा भुसालले प्राधिकरणमा ल्याउने उम्मेदवारका बारेमा आन्तरिक छलफलसमेत गरिसकेको स्रोतले बताएको छ।
‘कुलमानले आजभोलि नै राजीनामा दिने चर्चा कर्मचारी वृत्तमा छ। त्यसैले मनोज सिलवाल र प्रबल अधिकारी दुई जना उप-कार्यकारी निर्देशक बन्ने चर्चा सुरु भइसकेको छ। उहाँहरुले भेटघाट समेत बढाएको भन्ने चर्चा छ,’ प्राधिकरण स्रोतले भन्यो,’कुलमानले सम्भवतः निर्णय गरिसकेका छन्।’
शुक्रबार प्राधिकरणको कार्यक्रममा समेत धेरैले कुलमानलाई राजीनामा दिन लागेको बारे प्रश्न गरेका थिए। तर उनले जवाफ दिएनन्। बरु उल्टै समाचार हेरेर निर्णय गर्छु भनेर कूटनीतिक जवाफ दिएका थिए। कुलमान र प्रचण्डबीच निकटता छ। प्रचण्डले नै कुलमानलाई प्राधिकरणका कार्यकारी निर्देशकमा ल्याएका थिए।
कार्यकारी निर्देशक भएर आएपछि कुलमानले १२ घण्टासम्मको लोडसेडिङ हटाएका थिए। घिसिङलाई दोस्रो कार्यकालमा नियुक्ति माओवादीकै पहलकदमीमा भएको थियो। उनले घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेका थिए।
दोस्रो कार्यकाल दोहोर्याइएका घिसिङको पदावधि अझै ३ वर्ष बाँकी छ। उनले यो अवधिमा विद्युत भारत निर्यात गर्न सफल भएका छन्। दैनिक ३६४ मेगावाट विद्युत निर्यात गरेर प्राधिकरणले ६ अर्ब रुपैयाँ आम्दानी गरेको छ भने गत वर्ष ऐतिहासिकरूपमा १६ अर्ब रुपैयाँ नाफा कमाएको छ।
कुलमानले आफूले पाएको सफलताको श्रेय प्रचण्डलाई दिने गरेका छन्। स्रोतका अनुसार त्यही भएर प्रचण्डको आग्रहमा कुलमानले चुनाव लड्ने सम्भावना बढी छ। माओवादीका लागि पनि कुलमान कार्ड चुनावका लागि बलियो बन्न सक्ने देखिन्छ।
तर कुलमानले भने सबै पार्टीबाट उम्मेदवार बन्न प्रस्ताव आए पनि निर्णय नगरेको बताए। ‘मलाई सबै पार्टीबाट प्रस्ताव आएको छ। तर मैले कुनै निर्णय गरेको छैन,’ उनले बिजमाण्डूसँग भने।


