केन्याविरुद्धको पाँच खेलको टी२० र तीन एक दिवसीय क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। बुधबार बिहान क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका हुन्। टोलीमा कप्तान सन्दीप लामिछाने भने फर्किएका छैनन्।
लामिछाने यसअघि नै केन्याबाट क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज गएका छन्। उनले केन्यामा एकदिवसीय क्रिकेटसमेत खेलेनन्। लामिछानेमाथि मंगलबार एक नाबालिकले बलात्कारको आरोप लगाएकी छिन्। केन्या भ्रमणको क्रममा नेपालले पाँच खेलको टी२० सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको थियो भने तीन खेलको एकदिवसीय क्रिकेटमा क्लीन स्विप गरेको थियो।
सन्दीपको विषयमा छलफल गर्न क्यानको आकस्मिक बैठक बस्दै
नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले आकस्मिक बैठक बोलाएको छ। सन्दीपका विषयमा समाचारहरु बाहिरिएपछि आजै बैठक बसेर यसबारे निर्णय लिने तयारीमा रहेको क्यानले जनाएको छ।
सन्दीपविरुद्ध १७ वर्षीय नाबालिगले बलात्कार गरेको आरोप सहित प्रहरीमा उजुरी दिएकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको छ।
सो बारेमा छलफल गर्न क्यानको बैठक बस्न लागिएको हो। काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगेर काठमाडौं ल्याई राती ११ बजेर ५५ मिनेटको समयमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ।


