पोखराको सराङकोटमा ६१ फिट अग्लो गणेशको मूर्ति बन्ने

पोखराको सराङकोटमा ६१ फिट अग्लो गणेशको मूर्ति बन्ने

कास्की ।  पोखरा उपमहानगरपालिका १८ काे सराङकोटमा ६१ फिट अग्लो पन्चमुखी गणेशको मूर्ति बन्ने भएको छ । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको समन्वयमा गणेशको मूर्ति निमार्ण हुन लागेको हो ।

गणेशको मूर्ति स्थापना गर्न बुधवार पोखराका मर्यर धनराज आचार्यले शिलान्यास गर्नुभयाे । शिलान्यास कार्यक्रममा मेयर आचार्यले गणेशकाे मूर्तिले पाेखरा आउने पर्यटकलाई थप आकर्षण थप्ने बताउनुभयाे ।

सराङकोटबाट पोखरा बजारको सुन्दर दृश्य, हिमाल, फेवाताललगायतका रमणीय दृश्य देख्न सकिन्छ । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले अन्नपूर्ण केबुलकारका अध्यक्ष कालु गुरुङको संयोजकत्वमा उपसमिति गठन गरेर गणेशको मूर्ति स्थापना गर्न लागेको हो । धार्मिक पर्यटक बढाउने उद्देश्यले गणेशको मूर्ति स्थापना गर्न लागेको सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताउनुभयाे ।

सराङकोट प्याराग्लाइडिङ गर्न, पोखरा केबलकार चढेर जान, सूर्योदय हेर्नका लागि पनि प्रख्यात छ । गणेशको मूर्ति निमार्णका लागि पाँचदेखि नाै कराेड रुपैयाँ लाग्ने अनुमान छ । तल्लो तलामा फलामका पिल्लर बनाएर ढलान गर्ने र माथिल्लो भागमा झन्डै ६१ फिट अग्लो मूर्ति बनाउने लक्ष्य रहेको छ । आउँदाे फागुन ६ गतेसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको यो योजनाका लागि विभिन्न व्यक्ति र सङ्घ–संस्थासँग सहयोग सङ्कलन गरिने छ ।