भाटभटेनीको अंडरग्राउंड खाली गर्दै महानगर

भाटभटेनीको अंडरग्राउंड खाली गर्दै महानगर

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका-३२ मा रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना हटाउन सुरु गरेको छ । अंडरग्राउंडमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको छ ।

भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना हटाउन लागेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

पार्किङको लागि स्वीकृत लिएर केही ठाउँमा व्यवसाय हुँदै आएकाले ती संरचना हटाइएको काठमाडौंका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए।उनका अनुसार पार्किङको केही हिस्सामा तरकारी तथा फलफुल प्याकिङ लगायत अन्य व्यवसाय सञ्चालन हुँदै आएको थियो।

प्रहरी उपरीक्षक लामिछानेले अन्य प्रयोजन गरेका कारण बेसमेन्ट खाली गरिएको बताए। यस्तै यसपछि तीनकुने एरियामा समेत जाने बताए। ‘त्यहाँ फुटपाथ मिचेर भर्‍याङ हालिएको छ,’ उनले‍ भने‍, ‘त्यो पनि हामी हटाउने छौं।’ पछिल्लो समय महानगरले अनधिकृत रूपमा बनाइएका संरचनाहरू भत्काउने र नक्साविपरित बनाइएका संरसचना हटाउने कामलाई तीव्रता दिँदै आएको छ।