दाङमा पनि डेंगुका संक्रमित बढ्दो, ६३५ जनामा संक्रमण

दाङमा पनि डेंगुका संक्रमित बढ्दो, ६३५ जनामा संक्रमण

दाङमा साउनयता पछिल्लो समय डेंगु रोगका बिरामीको संख्या दिनप्रति दिन बढ्दै गएका छन् । डेंगु रोगको संक्रमण दाङ लगायत देशभर फैलिएको छ । जिल्लाका दश स्थानीय तह मध्य पाँच स्थानीय तहमा डेंगु रोगको संक्रमण फैलिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

स्वास्थ्य कार्यालय दाङका डेंगु रोग फोकल पर्सन देवराज डाँगीका अनुसार साउन १ गतेदेखि भदौ २७ गते सोमबारसम्म ६३५ जनामा डेंगी रोगको संक्रमण देखिएको छ । जिल्लाका पाँच स्थानीय मध्य सबैभन्दा बढी संक्रमण घोराही उपमहानगरपालिकामा ३१५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा १८ जना, लमही नगरपालिकामा ९ जना, राप्ती गाउँपालिकामा ३ जना र गढवा गाउँपालिकामा एक जना संक्रमित रहेका छन् । अन्य बबई, शान्तिनगर, राजपुर, बंगलाचुली र दंगीशरण पालिकामा भने डेंगी रोगको संक्रमण नदेखिएको फोकल पर्सन डाँगीले जानकारी दिए ।

यसैबिच जिल्लामा सोमबार मात्रै डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको हो । बिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक महिला डेंगु संक्रमित भएर सोमबार बिहान मात्रै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् ।

जिल्लामा डेंगु रोग फैलिन थालेपछि दश वटै स्थानीय तहलाई पत्राचार गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । डेंगु संक्रमण पुष्टि भएका पालिकाहरुले लामखुट्टेको बास स्थान खोजि गर्ने र लार्भा नष्ट गर्ने कार्यक्रम संचालन गरेको फोकल पर्सन डाँगीले बताए । साथै जिल्लामा रहेका विभिन्न संचार माध्यमहरुमा जनचेतना मूलक सन्देश जारी गरेर सूचना प्रदान गरिरहेको उनको भनाइ छ ।

जिल्लाका विभिन्न अस्पतालमा अहिले डेंगु रोगका लक्षण देखा परेका बिरामीहरु उपचार गर्न आउनेहरुको भिडभाड लाग्ने गरेको छ ।

डेंगु भएको कसरी थाहा पाउने ?

चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।

डेंगु लाग्दा देखिने लक्षण

  • असाध्यै टाउको दुख्ने
  • आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
  • ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने
  • शरीरमा विमिरा आउने
  • वाकवाकी लाग्ने
  • पेट दुख्ने
  • नाक वा गिजाबाट रगत बग्ने
  • रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

डेंगुबाट कसरी बच्ने

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।

यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

०१६ मा गरिएको अध्ययन अनुसार झापाको दमकमा धेरै जनामा ‘एईअल्बोपिक्टस’ जातको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण भएको पाइएको थियो । बिरामीहरूमा डेन-१, डेन-२ र डेन-३ भाइरस देखिएको थियो । यो वर्ष धरानमा देखिएको डेंगुबाट संक्रमित भएकाहरुमा डेन-२ प्रकारको भाइरस भेटिएको छ ।

डेंगु भाइरस चार प्रजातिको हुन्छ- डेन १, डेन २, डेन ३ र डेन ४ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।