भेटियो टुकुचा, अब ४ मिटर नदीलाई छोडेर दायाँबायाँ करिडोर बनाइने

भेटियो टुकुचा, अब ४ मिटर नदीलाई छोडेर दायाँबायाँ करिडोर बनाइने

काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ दायाँबायाँ सडक करिडोर बनाउने तयारी गरेको छ। महानगरले बिहीबार जय नेपाल हलको आँगन उत्खनन् गरेको थियो। त्यहाँ टुकुचा खोला फेला परेको छ। टुकुचा खोला पुरेर त्यहाँ भवनलगायत संरचना बनाइएको थियो। इँटाको पर्खालमा सुरूङ बनाएर टुकुचालाई बगाइएको छ।

महानगरकी उपमेयर सुनिता डंगोलले टुकुचा खोला अतिक्रमणमुक्त बनाउन सहयोग गरेकोमा धन्यवादसमेत दिएकी छन्। उनी आज अपरान्ह जय नेपाल हल परिसर पुगेकी थिइन्। महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ करिडोर बनाउने बताए।

उनले यसका लागि ६ अर्ब बजेट रहेको जानकारी दिए। यो काम पाँच वर्षभित्र पूरा हुने उनले बताए। ‘टुकुचा खोलामा पानी बग्न चार मिटर छाडिन्छ। बाँकी दायाँबायाँ चार/चार मिटरको करिडोर बन्छ,’ उनले भने।

त्यो बिशाल टुकुचा अर्थात इच्छुमती खोला

कुनै समय इच्छुमती नामले परिचित काठमाडौंको बुढानिलकण्ठबाट सुरु भई बाँसबारी, चन्डोल, नारायणहिटी, कमलादी, प्रदर्शनिमार्ग हुँदै थापाथली आइपुगेर बागमतीतर्फ बग्ने टुकुचा खोला उपत्यकाको ठूलो खोलाको रुपमा चिनिन्थ्यो । तर हाल खोलाको चौडाइ घटेको मात्र होईन्, काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापी नक्साबाटै गायब बनाई खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको देख्न सकिन्छ ।

टुकुचा खोलाको चौडाइ विभिन्न ठाउँमा दुईदेखि १० मिटरसम्म कायम रहेको आधार अनुसार मिचिएको स्थानमा सरदर कम्तीमा चार मिटर चौडाइलाई आधार मान्दा झन्डै १० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ ।

टुकुचा खोला गायब भएको स्थान हात्तिसार क्षेत्रको नापी बि सं २०३३ सालमा भएको थियो । सो समय नापी गर्ने अधिकृत राजेन्द्रप्रसाद मराठाको समयमा नै टुकुचा खोला गायब पारिएको अवस्थाको नापी गरिएको देखिन्छ । निरन्तर बगिरहेको खोला गायब हुँदा सम्बन्धित कुनै पनि निकायबाट स्पष्ट रुपमा खोज्ने काम भएन र पुरिएको खोला पुर्ववत रुपमा बाहिर ल्याउनु सट्टा यस क्षेत्रमा ब्यापारिक भवन निर्माणको स्विकृती दिईदै गइयो ।

टुकुचा खोला नजिक संरचना निर्माण गर्दा सिमानाबाट ४ मिटर छोड्नु पर्ने नियम भएपनि खोलामाथी नै ब्यापारिक घरानाका भवन निर्माण हुन लागेपछि हात्तिसार उपभोक्ता समितिले सो निमाण रोक्का गर्न निवेदन पनि दिएको थियो तर संरचना भत्काउने त परैको कुरा, निर्माण रोका गर्ने तथा स्पष्टिकरण नि सोध्न सक्ने हिम्मत सरोकारवालहरु को देखिएन र अन्तत: खोलामाथी संरचना निर्माण हुने क्रम यथावत नै रह्यो ।