एमडिएमएस लागू भएकोमा मोबाइल व्यवसायीहरूले दीपावली गर्ने

एमडिएमएस लागू भएकोमा मोबाइल व्यवसायीहरूले दीपावली गर्ने

शुक्रबार मोबाइल व्यवसायमा आवद्ध विक्रेता एवम् व्यवसायीहरूले दीपावली गर्ने भएका छन्। मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को ‘सफ्ट-लन्च’ भएको खुसियालीमा मोबाइल व्यवसायमा आवद्ध ५० हजारभन्दा बढी व्यवसायीले दीपावली गर्ने बताए।

‘विगत लामो समयदेखि हामी एमडिएमएस लागू हुने प्रतीक्षामा थियौं। अन्ततः आजदेखि लागू भएको छ। त्यसैले खुसियाली व्यक्त गर्न दीपावली मनाउने भनेका हौं,’ बिहीबार उनले सेतोपाटीसँग भने।

अध्यक्ष मल्होत्राका अनुसार शुक्रबार साँझ ६ बजेदेखि मोबाइल व्यवसायीहरूले आफ्नो क्षेत्रमा दीप बालेर खुसियाली मनाउनेछन्। एमडिएमएस लागू भएसँगै अब अवैध रूपमा अर्थात् गैर-कानुनी रूपमा मोबाइल भित्रने समस्या नियन्त्रण हुनेछ। किनभने एमडिएमएसमा दर्ता नभएका फोनहरू अब ब्लक हुनेछन्।

प्राधिकरणले आज (भदौ ३० २०७९) सम्म जुनसुकै तरिकाले भित्रिएका सबै फोनलाई ‘ह्वाइट लिस्ट’ मा राखेको छ। अर्थात् ती मोबाइल एमडिएमएस प्रणालीमा दर्ता भइसकेका छन्। यिनलाई फेरि लगेर दर्ता गरिराख्नु पर्दैन।

तर भोलिदेखि भन्सार छलेर, गैरकानुनी वा अवैध रूपमा भित्र्याइएका मोबाइल ब्लक गरिनेछ। ब्लक गर्नुअघि प्राधिकरणले त्यस्ता मोबाइललाई दर्ता गर्न १५ दिन समय दिनेछ। दर्ताका लागि सूचना पठाउँछ। तोकिएको समयभित्र फोन एमडिएमएसमा रजिस्टर नगरे स्वतः ब्लक गरिने व्यवस्था मिलाइएको छ।

ग्रे मार्केट हटाउने अरु विकल्प छैन ?

४२ प्रतिशतदेखि ४५ प्रतिशतसम्म ग्रे मार्केटको हिस्सा छ । यसले मोवाईल कारोबारलाई कोभिड अगाडिकै अवस्थामा पुर्याइसकेको छ । यसले सरकारको राजश्वमा पनि ठूलो असर पारेको छ ।

ग्रे मार्केट नियन्त्रण हुनासाथ मोवाइल आयातबाट सरकारले पाउने राजश्व बढ्छ । एमडीएमएस प्रणाली लागू भए आपराधिक क्रियाकलाप नियन्त्रणमा पनि सहयोग पुग्छ ।

एमडीएमएस बिना ग्रे मार्केट नियन्त्रण गर्न सकिदैन । हाम्रा सिमाहरु खुला छन् । भारत, चीनबाट सजिलै आउन सक्छ । विमानस्थलबाट पनि भित्रिरहेको छ । भन्सार तिरेरै पनि मान्छेहरुले विमानस्थलबाट मोवाइल सेट ल्याइरहेका छन् । एमडीएमएस लागू नगरी ग्रे मार्केट नियन्त्रण सम्भव हुँदैन । अवैध कारोबार नरोके मोवाइल व्यवसाय धराशायी हुन्छ ।