मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 10 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

संविधान दिवसको दिन एमालेको पैदल भ्रमण आयोजना, केपी ओली हिँडेरै बसन्तपुर पुग्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर असोज १ गते वाकाथन नामक प्रातःकालीन पैदल भ्रमण आयोजना गर्ने भएको छ । संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगावै मर्निङ वाक कार्यक्रम राखेको हो ।

अरु बेलाका कार्यक्रमजस्तो झन्डा, ब्यानर नलगी विशुद्ध मर्निङ वाककै रुपमा काठमाडौंका पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली जाने कार्यक्रम रहेको एमाले नेता विष्णु रिजालले अनलाइनखबरलाई बताए ।

रिजालका अनुसार एमाले अध्यक्ष ओलीले नयाँ बानेश्वरबाट पैदल हिँड्नेछन् । संविधान निर्माणका बेला कांग्रेस नेतृत्वको सरकार रहे पनि देशी–विदेशी चुनौती सामना गर्दै निर्णायक पहल एमालेले लिएको विगत सम्झना गर्दै ओली आफैं पैदल हिँड्न लागेको उनले बताए ।

‘संविधान निर्र्माणको नेतृत्व गर्ने पार्टी एमाले हो भन्ने समाजमा स्थापित नै छ, यसका सबलता र कमजोरी सबै हाम्रो पहलकदमीमा भएकै हुन्,’ रिजालले भने, ‘यसैवापत नाकाबन्दी पनि देशले बेहोर्नुपर्‍यो । केही सातापछि ओली प्रधानमन्त्री भएपछि नै भारतसँग अडान लिने काम सुरु भयो, हामीले सफलता पनि पायौं । हामी यसको पनि सम्झना गर्नेछौं, यो वाकाथनमा ।’

एमालेले आफूलाई संविधानको संरक्षक, पालक, पोषक भएको प्रचार लैजान लागेको हो । संविधान संशोधन गराएर चुच्चे नक्सा अनुमोदन गराउने नेतृत्व पनि एमालेकै भएकाले यो संविधान दिवसलाई विशेष रुपमा मनाउन लागेको उनले बताए । असोज १ गते बिहान ६ः४५ बजे बाट मर्निङ वाक सुरु गर्ने भन्दै एमालेले शुभेच्छुक, सर्वसाधारणलाई पनि सहभागी हुन अपिल गरेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।