मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

लिमीमा खाद्यान्न ओसार्न सेनाकाे हेलिकप्टर हुम्ला पुग्यो

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । खाद्यान्न माग्दै जनप्रतिनिधिहरू काठमाण्डौ आएपछि हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीमा खाद्यान्न पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर हुम्ला सदरमुकाम सिमकोट पुगेको छ ।

आज आइतवार दिउँसो सिमकोट पुगेको हेलिकप्टरमा ११ क्विन्टल चामल लोड गरिएको र भोलि साेमवार बिहानै लिमीमा जाने नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो । बिहान सिमकोटबाट चामल लिएर लिमी जाने र त्यसपछि हिल्साबाट खाद्यान्न ओसार्ने उहाँले बताउनुभयो ।

हिस्लामा चीनले राहत स्वरूप दिएको चार हजार पाँच सय बोरा मैदा र झन्डै आठ सय बोरा चामल छ । हिल्साबाट लिमी आउने बाटोमा बाक्लो हिउँ जमेका कारण चीनले दिएको खाद्यान्न ल्याउन नसकेको उहाँले बताउनुभयो । लिमीबाट हिल्साको हवाई दुरी छोटो भएकाले हेलिकप्टरले त्यहाँ रहेको सबै खाद्यान्न ओसार्ने आशा रहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

लिमीमा खाद्यान्न सकिएर भोकमरी सुरु भएपछि वडाध्यक्षसहित पाँच जना स्थानीयवासी हिउँ पन्छाउँदै सदरमुकाम आएका थिए भने वडाध्यक्ष तामाङ काठमाण्डौ आएर हारगुहार गर्नुभएको थियो । गृह मन्त्रालयको निर्देशनमा सेनाले हेलिकप्टर पठाएपछि तामाङ पनि सदरमुकाम सिमिकोट पुग्नुभएको छ भने अरू पाँच जना खाद्यान्न लोड गर्नका लागि हिउँ पन्छाउँदै हिल्सा पुगेका छन् । अब भने सदरमुकाम र हिल्साबाट खाद्यान्न पुर्‍याइने भएकाले गाउँको भोकमरी हट्ने विश्वास रहेको तामाङले बताउनुभयो ।

चीनसँग जोडिएको हुम्लाको अत्यन्तै विकट नाम्खा गाउँपालिकामा आलु र उवा मात्रै उत्पादन हुन्छ । यसबाट यहाँका बासिन्दाले मुस्किलले दुई/तीन महिना कटाउँछन् । नाम्खाको अति विकट गाउँ तिल, जाङ र हल्जीका झण्डै पाँच सय जनसङ्ख्या भोकमरीको चिन्तामा छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।