नेपाली भाषाको फिल्म ‘प्रेम गीत ३’ असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । भारतमा फिल्मको हिन्दी डब रिलिज हुनेछ भने नेपालमा दुवै भाषा एकसाथ लाग्नेछन् । प्रदर्शन नजिकिँदै गरेपछि फिल्मको निर्माण कम्पनी आशुसेन फिल्मस्ले हिन्दी डबलाई नेपालमा प्रदर्शन गर्न नेपाली भाषाको फिल्म सरह अनुमति माग्दै बुधवार चलचित्र विकास बोर्डमा निवेदन बुझाएको छ ।
यद्यपि, निवेदनको फर्म्याटमा नआएको कारण दर्ता भने नभएको विकास बोर्डका निर्माण अधिकृत हरिसिंह रैखोलाले बताए । निवेदनमा हिन्दी भाषामा स्वरांकन गरिएको फिल्मलाई नेपाली फिल्म सरह सेन्सर सिफारिस गर्न माग गरिएको छ । निवेदनपछि बिहीबार चलचित्र विकास बोर्डले फिल्म सम्बद्ध विभिन्न संघ-संस्थाका पदाधिकारीसँग छलफल गरेको छ ।
छलफलमा उपस्थित चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाली फिल्मले हिन्दी स्वरांकनको प्रदर्शन र सेन्सरको अनुमति नेपाली फिल्मकै सरह माग्नु राष्ट्रघात र देशद्रोही कदम भएको बताए । उनले भने- ‘हिन्दी स्वरांकनको अनुमति दिनलाई नेपाल भारतको प्रान्त होइन । यो विषयमा त देशद्रोहीको मुद्धा लगाउनु पर्छ ।’
आफूहरुले ‘प्रेमगीत ३’ नेपाली फिल्म भनेर गर्व गरेको भए पनि हिन्दीमा डब भएर विदेशीको पोल्टामा गइसकेको नवलको तर्क छ । उनी अगाडि भन्छन्, ‘यो त भाषा अतिक्रमण हो । राष्ट्रियता भन्दा ठूलो केही हुँदैन । कानुनले नेपाली राष्ट्रभाषा नमानेको भाषालाई नेपाली फिल्मकै रुपमा रिलिज गर्न पाउनुपर्ने नियत गलत छ । विदेशी फिल्म अनुसार हिन्दीमा रिलिज भयो भने मात्र प्रदर्शन अनुमति दिनुपर्छ । अहिले आएको निवेदनमा मेरो घोर आपत्ति छ ।’
निर्माता संघका महासचिव सुनिल कुमार थापाले पनि हिन्दीमा डब भइसकेको फिल्मलाई नेपाली भाषाका फिल्म सरह अनुमति दिँदा खराब नजिर बस्ने जिकिर गरे । ‘भोली अरु हिन्दी भाषाको फिल्मले यही सुविधा माग्नेछन् । अगाडि नै स्वरांकनको अनुमति लिनुपर्थ्यो । स्वीकृति नलिएको हुँदा अहिले नेपाली फिल्म सरह अनुमति दिनु हुँदैन । खाली वितरकका कारण सुविधा लिन खोजिएको हो,’ उनले भने ।
बरिष्ठ अधिवक्त कृष्ण ढुंगानाले कानुनले हिन्दी भाषालाई नेपालको भाषाको मान्यता नदिएकाले नेपाली भाषा सरह अनुमति दिन नहुने धारणा राखे । हिन्दीमा डब भएको फिल्मलाई नेपाली फिल्म जसरी सेवा-सुविधा दिन नमिल्ने उनको भनाई छ । निवेदनमा नै ‘प्रेमगीत ३’ को हिन्दी डब भइसकेको पुष्टि भएकाले बोर्डबाट स्वरांकन अनुमति नलिएको हुँदा नेपाली भाषा सरह सिफारिस दिन नमिल्ने बताए ।
नेपाली भाषाको लागि अनुमति लिएको फिल्मले अन्य भाषामा स्वरांकन भएपछि पुनः सेन्सर गर्नुपर्ने प्रावधान पनि छ । चलचित्र विकास बोर्डका निर्माण अधिकृत हरिसिंह रैखोलाले ‘प्रेमगीत ३’ले हिन्दी भाषामा स्वरांकनका लागि अनुमति नलिएको बताए । बोर्डले अनुमति दिएता पनि सेन्सर बोर्डले फिल्म हेरेपछि के भन्छ भन्ने कुरा पनि महत्त्वपूर्ण रहेको उनले बताए । उनले भने- ‘केही समय अगाडि फिल्म ‘रण’ भोजपुरी भाषाका लागि निर्माण इजाजत र सेन्सर सिफारिस लागेको थियो । तर, फिल्म हेर्दा सबै भारतको भोजपुरी देखिएपछि सेन्सर बोर्डले चलचित्र विकास शुल्क तिर्नुपर्छ भनेर निर्णय गर्दियो ।’
फिल्म सेन्सर बोर्डका सदस्य राजेश महर्जनले बोर्डले सिफारिस गरेता पनि सेन्सर बोर्डले नेपाली भाषा सरह मान्यता नदिन सक्ने तर्क पेश गरे । ‘प्रेमगीत ३’को हिन्दी डब भारतीय फिल्म सरह हिन्दी भाषामा नेपालमा रिलिज गर्दा वितरकले १५ प्रतिशत चलचित्र विकास शुल्क तिर्नुपर्ने हुन्छ । यही विकास शुल्क मिनाहका लागि ‘प्रेमगीत ३’ निर्माताले हिन्दी डबलाई नेपाली भाषा सरह अनुमति दिन बोर्डमा निवेदन बुझाएको आँकलन गरिएको छ ।
तर, ‘प्रेमगीत ३’का निर्माताले हिन्दीमा स्वरांकनका लागि बोर्डबाट अनुमति लिएका थिएनन् । जसले गर्दा यो फिल्मको हिन्दी डबलाई हिन्दी भाषामा नै अनुमति दिनुपर्ने धारणा फिल्मकर्मीहरुको राखेका हुन् ।
निर्माताले एउटा भाषामा निर्माण भएको फिल्मलाई अर्को भाषामा पुनः स्वरांकन गर्न चाहेमा मन्त्रालय समक्ष दखास्त दिनुपर्ने, अर्को भाषामा पुनः स्वरांकन गर्न दिन उपयुक्त देखिएमा मन्त्रालयले तीन हजार रुपैयाँ दस्तुर लिइ पुनः स्वरांकनको अनुमति दिने, पुनः स्वरांकन गरिएको फिल्म प्रदर्शन गर्नुअघि चलचित्र जाँच समितिबाट जँचाउनुपर्ने कानुनी व्यवस्था छ ।





