टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै

टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बजभित्र बगिरहेको (इच्छुमति) टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन् ।

काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ । त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन् । तीमध्ये जय नेपाल हल, त्यससंगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौतले भवन रहेका छन् ।

टुकुचालाई खुला रूपमा बग्न दिने र वरिपरि करिडोर बनाउने योजनासहित चार दिनअघि जय नेपालबाट टुकुचा क्षेत्र खाली गर्न थालिएको हो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

टुकुचाबारे जय नेपाल हलका मालिकको बयान : महानगरलाई मैले नै खोला देखाइदिएँ

राजधानीको हात्तीसारस्थित जय नेपाल हलका मालिक उज्वल राणाले टुकुचा खोला आफूहरुले नपुरेको बताएका छन् । आफू जन्मनु अगाडिदेखिनै हात्तीसारमा टुकुचा खोला नरहेको उनको दाबी छ । ‘म जन्मनु अगाडि देखिनै यो स्थान अहिले जस्तै थियो । खोला थिएन’, रातोपाटीसँग कुराकानी गर्दै उनले भने

बिहीबार काठमाडौं महानगरपालिकाले हल परिसरमा उत्खनन् गरेर टुकुचा फेला पारेको थियो । करिब १५ फिट तलसम्म उत्खनन गर्दा टुकुचा खोला बगेको भेटिएको थियो ।त्यसरी उत्खनन् गर्दा हलमुनि टुकुचा खोला भेटिएपनि उक्त खोला आफूले नपुरेको राणाले दोहोर्याए । ‘हल मेरो हजुरबुबाले महेन्द्र सरकारको पालामा बनाएको हो । मैले देखेदेखिनै यो स्थानमा हल यस्तै थियो र खोला थिएन’ राणाले भने ।

क्युएफएक्सले पार्किङ बनाउँदा पनि भेटिएको थियो खोला

सो हल हाल क्युएफएक्सले भाडामा लिएर चलाउँदै आएको छ । क्युएफएक्सले भाडामा लिएपछि अन्डरग्राउन्ड पार्किङ बनाउन लाग्दा पनि खोला भेटिएको उनको भनाइ छ । महानगरले हलमुनिको खोला आफ्नै सहयोगमा उत्खनन गरेको राणाको दाबी छ । ‘क्युएफएक्सले खोतल्दा भेटिएकाले खोला मैले मार्क गरेको राखेको थिएँ’, राणाले भने ‘मैले नै यहाँ खोतल्दा भेटिन्छ भनेर देखाएको हो ।’

पुरानो संरचना फर्किन्छ भने सहयोग गर्छु

राणाले पुरानो संरचना फर्किन्छ भने आफू महानगरपालिका र सरकारलाई सहयोग गर्न तयार रहेको पनि बताए । राणाले भने, ‘पुरानो संरचना फर्किन्छ भने मेरो जग्गा गएपनि आपत्ति छैन ।’ यस्तै पुरानो संरचना फर्काउँदा फिल्म हल बन्द नहुने राणाले सुनाए । अहिले खोलो उत्खनन् गर्दा आफ्नो ६–७ आना जग्गा भने जाने उनको भनाइ छ । ‘अहिले मानिसहरु खोलो निकाल्दा हल भत्किन्छ भनेर उफ्रिरहेका छन् । त्यो होइन, पार्किङ मात्र जान्छ’, उनले भने ।

खोलाको विषयमा क्युएफएक्सका सञ्चालक नक्किम उदिनले पनि राणाकै कुरा दोहोर्याए । ‘जय नेपाल हलमा एक पटक ढल जाम भयो । ढल पनि मिलाउनु पर्यो । पार्किङ पनि बनाउनु पर्यो भनेर हामीले खनेका थियौँ,’ उदिनले भने ‘त्यो समय खोला भएको ठाउँ मार्क गरेर हामीले पुरेका थियौँ ।’ १९४२ मा टुकुचा पुरिएको आफूले सुनेको उदिनले बताए ।