काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासमै सरकारले नजरबन्द गरेको आरोप लगाएका छन् । पार्टी सचिवालयको आइतबारको बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै ओलीले राणामाथि सरकारले गरेको व्यवहारबारे टिप्पणी गरेका हुन् ।
‘अब मानिसको घर घेर्ने, नजरबन्द बनाउने, यस्तो तमासा लोकतन्त्रमा हुन्छ ?’ उनले भने, ‘अभियोग पुष्टि नभएपछि प्रधानन्यायाधीशले के गर्ने त सरकारले पुष्टि गर्नु पर्ने गरेन ?’उनले सत्तामा पुगेपछि सेना प्रहरी हातमा छ भनेर जे गरे पनि नहुने बताए । प्रधानन्यायाधीशलाई त घेर्ने सत्तापक्षलाई संसद्ले केही गर्न नसक्ने बताए ।
अध्यक्ष ओलीले आफैंले थापेको महाभियोगको पासोमा सत्ता गठबन्धन परेको बताएका छन् । ‘निर्वाचित संसद्ले टेकओभर गरेन र त्यसको सभामुखले पनि घर्रामा राख्यो भने फेरि अर्कोले गर्ने ?’ ओलीको प्रश्न थियो, ‘तीन महिनाभित्र यो प्रश्न टुंग्याउनु पर्ने थियो । कि यो जिन्दगीभर चलाउनु पर्ने विषयमा होइन ? कार्यकाल हुन्छ, अवधि हुन्छ । संसदीय प्रक्रियाको अवधि हुन्छ । प्रस्तावहरु कहिलेसम्म टुंग्याउने भन्नेमा अवधि हुन्छ । त्यसको कानुनी व्यवस्था छ ।’
उनले रुसमा बोरिस यल्तसिनले गरेको गोलाबारीको प्रसंग ल्याउँदै त्यसै घटनासँग तुलना गरे ।’बोरिस यल्तसिनले रुसको संसद्मा गोलाबारी गरेको थियो, यस्ता बोरिस यल्तसिनसँग संसद्को के कुरा गर्ने ?,’ ओलीले भने, ‘अदालतको कुरा वा स्वतन्त्र न्यायालयको कुरा के गर्ने ? लोकतन्त्रको कुरा के गर्ने ? कानुनी राजका कुरा के गर्ने ? यो सर्वोच्च अदालतमाथि लगातार हानेको गोलाबारुद नै हो । ‘
अध्यक्ष ओलीले सरकारले प्रधानन्यायाधीश महाभियोग प्रकरणमा खेलको भूमिका एमालेले निन्दा गर्ने बताए । ‘लोकतान्त्रिक मूल्य र मान्यताअनुसार शासनसत्ता चल्नुपर्छ । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार चल्नुपर्छ । आ-आफ्नो भूमिका खेल्नु पर्छ,’ ओलीले भने, ‘संसद् सचिवालयले के लेख्नुपर्छ भने संसद्को कार्यकालभरमा पास हुन सकेन । अघिल्लो र यो अधिवेशनले पार लगाउन सकेन । ‘
उनले प्रधानन्यायाधीशमाथि महाभियोग जस्तो प्रस्ताव ७ महिनासम्म अनिर्णीत छाड्ने विषय नभएको बताए । ओलीले सत्तारुढ गठबन्धन निर्लज्ज भएको बताए ।’उनीहरुको कमेन्टमाथि मेरो कमेन्ट छैन,’ ओलीले भने । ओलीलाई सञ्चारकर्मीहरुले विवादस्पद व्यक्तिलाई चुनावको मुखमा बोक्नबाट एमालेलाई बचाएको भन्ने विषयमा प्रश्न सोधेका थिए ।




