प्राध्यापक डा. युवराज संग्रौलाले फेसबुक स्टेटसमा लेखेका छन्, ‘नयाँ संविधान बनेपछिको पहिलो प्रतिनिधि सभा एउटा भद्दा संस्थाको रुपमा प्रकट रह्यो। सारमा यो कार्यपालिकाको कुरूप छायाका रुपमा रह्यो। यसले उदारवादी लोकतन्त्रलाई “गफतन्त्र”मा परिणत गर्यो।
छलफल नै नगरी एम.एम.सी अनुमोदन गर्यो र जनतालाइ धोका दियो। नागरिकता विधेयक पारित गरेर राष्ट्रिय स्वार्थ माथि घात गर्यो। समग्रमा थुप्रै कलंक कायम गर्दै, आफ्नो अस्तित्वमा प्रश्न खडा गर्दै अब राजनीतिलाई अपराधिकरणको बाटो खोल्यो। नेपालको वर्तमान राजनीति विचारहीन जत्थाको अनैतिक मन्च हो भन्ने प्रमाणीत गर्यो।’
उनको उक्त स्टेटसको प्रतिक्रिया दिँदै बालेन साहले आफ्नो व्यक्तिगत फेसबुक आइडीबाट लेख्छन्, ‘तपाईको पनि देखियो सर, फेसबुकमा लेख्ने मात्रै हो। पाँचजना प्रधानमन्त्री पनि बनाइ हाल्नु भो, साँचिकै गर्नेबेला लुकेर बस्नुहुन्छ, अबदेखि यस्तो ठुलो कुरा फेसबुकमा लेख्न बन्द गर्नुस्।’

बालेन र युवराज संग्रौलाबीच के मनमुटाव हो त्यो त थाहा भएन तर राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले आफ्नो फेसबुकमा लेख्दै बालेनले महानगरको कानुनी सल्लाहकारको रुपमा युवराज संग्रौलालाई नियुक्त गर्न खोजेको र युवराज संग्रौलाले बेवास्ता गरेको उल्लेख गरेका छन् ।
गणेश कार्कीका अनुसार, गत स्थानीय निर्वाचन हुनु भन्दा पहिले बालेन चुनावी अभियानमा धेरै मान्छेहरु भेट्थे । युवराज संग्रौलालाई पनि भेट्न गए । उनीसँग लगभग ३ घण्टा कुरा भयो । संग्रौलालाई बालेनले चुनाव जित्छन् भन्नेमा रत्तिभर पनि विश्वास थिएन । पहिले चुनाव जितेर मात्रै आफू कहाँ आउन संग्रौलाको अन्तिम सुझाव रह्यो ।
बालेनले त्यसपछि सोधे, “म निर्वाचित भएपछि महानगरमा आएर कानुनी कुरामा सघाउनु हुन्छ त ? भलो गर्ने उपयोगी तपाईका योजना महानगरमार्फत गर्न म तयार हुन्छु ।”
“पहिले जितेर त आउनुस् ।” युवराज संग्रौलाले जवाफ दिए ।
बालेन निर्वाचित भए । कानुनी सल्लाहकार चाहिने भयो । केहिदिनको अन्तरालमा बालेनले लगभग ३०० पटक फोन गरे । उठेन । पछि एकजनाले छोरीको बिहे भएर व्यस्त रहनु भएको भनेर फोन गरे । बिहे सकिए पछि फेरि बालेनले कल गरे तर अँह कहिलै फोन उठेन ।
युवराज संग्रौलाको भतिजसँग एमआरआरको कमेन्टमार्फत चिनाजाना भयो । उहाँबाट सम्पर्क प्रयास गरियो तर संग्रौलाले भेट्न मान्नु भएन । संग्रौलाको ड्राइभर, दाई लगायत धेरैतिरबाट सम्पर्क गर्न गरिएका प्रयास सफल भएनन् । बिचबिचमा उहाँका देश बनाउने योजनाहरु भने मिडियामार्फत आइराख्थे । तर त्यहि कुरा मिलेर गरौँ भन्दा उहाँ तयार हुनु भएन, भाग्नु भयो ।


