काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लागेको महाभियोग संसद् समाप्त भएसँगै सकिएको बताएका छन् । सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धनले महाभियोग प्रस्तावमा विलम्ब गरेर सफाइ दिएको टिप्पणी गरे ।
‘हिजो संसद्को अधिवेशन सकियो, त्यो मात्रै सकिएको होइन, यो संसद्को कार्यकाल नै सकियो त्यो महाभियोग प्रस्ताव पारित भएन । दर्ता भएर पारित भएन भने कुरा सकियो,’ केपी शर्मा ओलीले भने ‘त्यसमा सत्तामा पक्षले उहाँलाई सफाइ दियो । विलम्ब गरेर सफाइ दियो । प्रक्रिया अघि नबढाएर सफाइ दियो । आँफैले खनेको खाल्टोमा आफैं परेर सफाइ दियो ।’
उनले महाभियोग प्रस्तावमा सत्तापक्ष आफ्नो षड्यन्त्रको खाल्टोमा परेको पनि बताए । ‘प्रमुख प्रतिपक्षीको दर्ताबाट हामीले प्रधानन्याधीशजस्तो व्यक्तिमाथि कुनै आरोप अभियोग लागिसकेपछि र प्रतिनिधिसभाजस्तो ठाउँमा दर्ता भएपछि यसरी केही नभएझैं गरेर निष्क्रिय बस्नु हुँदैन, यसो गर्नुपर्छ भनेर भनेका थियौं तर सत्ता पक्षबाट गणितीय खेल र षड्यन्त्र लाग्नु भयो त्यो दुखको कुरा हो,’ ओलीले भने, ‘प्रतिनिधिसभाले दुई तिहाईले पारित गर्नुपर्दथ्यो सदर गर्ने हो भने ।
दुई तिहाईले पारित नगर्दा असफल हुन्थ्यो । षड्यन्त्रपूर्ण ढंगले फागुन १ गते दर्ता भयो २०७९ भदौ १ गतेसम्म सभामुखज्यूले आफ्नो घर्रामा सत्तापक्षीय स्वार्थवस राख्नुभयो र कारबाही अघि बढ्न दिनु भएन ।’





