अदालतको आदेश आएपनि महानगरले टुकुचाका अवैध संरचना भत्काउन नरोकिने

अदालतको आदेश आएपनि महानगरले टुकुचाका अवैध संरचना भत्काउन नरोकिने

टुकुचा खोलामाथि बनेका केही घर तत्काल नभत्काउन भनी उच्च अदालत पाटनले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि टुकुचामाथिका अनधिकृत अन्य संरचना भत्काउने कदम नरोकिने महानगरले जनाएको छ । महानगरले नदीमाथि बनेका घरटहरा भत्काउन बिहीबारदेखि डोजर चलाएपछि टुकुचासँग जोडिएका घरधनीले शुक्रबार नै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले तत्काल ती संरचना नहटाउन आदेश जारी गरेको हो ।

जयनेपाल हलस्थित पे्रसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोलाविक्रम थापा, उत्तरमान लामासमेतले शुक्रबार रिट दायर गरेका थिए । अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार ०३८ मा महानगरबाट इजाजतपत्र लिएर घर निर्माण गरेको, नक्सापास र निर्माण सम्पन्न पत्र पनि महानरले लिइसकेको अवस्थामा संरचना भत्काउन लागेको भन्दै रिट दायर भएको थियो । उच्च अदालत पाटनले बिहीबार दोहोरो छलफलका लागि विपक्षी महानगरपालिका र निवेदकलाई पेसी तोकेको छ ।

रिटमा टुकुचामाथिका सबै घर नभत्काउनु भनिएको छैन । तर, महानगरले भने अदालतको स्टे अर्डरको समय नसकिँदासम्म खाली भागमा मात्रै टुकुचा खोतल्ने जनाएको छ । त्यसका लागि कमलादीदेखि जयनेपाल हलसम्मको खोलामा रातिमा समेत काम गर्न महानगरले बत्ती जडान गरेको छ । बिहीबार पेसी तोकेकाले त्यहाँ छलफलका लागि महानगर उपस्थित हुने र उक्त दिनसम्म व्यक्तिका घरभन्दा पनि खाली रहेको भागमा टुकुचा खोतल्ने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

मानन्धरले अदालतको स्टे अर्डर माने पनि कामचाहिँ नरोकिने जानकारी दिए । स्टे अर्डरका कारण व्यक्तिको घरमा डोजर नहाने पनि खाली ठाउँमा पुरिएको टुकुचा खोतल्ने उनको भनाइ छ । ‘बागमती बग्न पाउँछ, विष्णुमती बग्न पाउँछ अनि इच्छुमती बग्न नपाउने कुरा हुन्छ ?’ उनले भने, ‘अदालतको स्टे अर्डर मान्छौँ, तर अदालतले टुकुचा खोला खुला गर्नुपर्छ भन्नेमा पनि त सोच्नुपर्‍यो नि ।’ आदेशमा उचित क्षतिपूर्ण नदिई भत्काउने कार्य नगर्नु भनिएको छ ।

तिनकुने र थापागाउँका अवैध संरचनामा डोजर
काठमाडौं महानगरपालिकाले आइतबार मुख्य तीन ठाउँका अनधिकृत संरचना भत्काएको छ । तिनकुनेस्थित बागमती करिडोर, जडीबुटी र थापागाउँमा महानगरले अवैध संरचना हटाएको हो । तिनकुनेस्थित बागमती नदीको फुटपाथमा बनेको एउटा टहरो महानगरले भत्काएको छ ।

अधिवक्ता रत्नेश्वर शर्माले घरसँगै जोडेर फुटपाथमा बनाएको टहरो महानगरले भत्काएको हो । त्यस्तै, जडीबुटीस्थित नन्दु दुलालले खडा गरेको टायर कारखाना पनि नगर प्रहरीले हटाएको छ । आइतबारै थापागाउँमा ६ मिटरको डिएल्डी (निर्देशित जग्गा विकास कार्यक्रम)मा भित्र परेका चारवटा घरका केही भाग महानगरले भत्काएको छ । मुआब्जा दिने गरी ती घर भत्काइएको महानगरका नगर प्रहरी इन्स्पेक्टर किशोरकुमार भट्टराईले जानकारी दिए ।

कमलादीस्थित सिद्धार्थ बैंकपरिसरमै टुकुचा
महानगरले आइतबार कमलादीमा रहेको सिद्धार्थ बैंकपरिसरको खाली भागमा आठ फिट खन्दा टुकुचा भेटिएको छ । त्यहाँ महानगरले दिनभर डोजर चलाएको थियो । तर, कमलादीकै दुई ठाउँमा भने डोजर छिर्न नसक्दा खोतल्न नसकिएको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उनका अनुसार कमलादीमा रहेको नेपाल इन्स्योरेन्सको कार्यालयनजिक र काठमाडौं प्लाजाको पछाडि ढलानका कारण डोजर छिर्न सकेन । यसअघि महानगरले जयनेपाल हल र लक्ष्मी बैंकपरिसरमा टुकुचा उत्खनन गरेको थियो । स्टे अर्डरबाहेकका संरचना र खोलामाथिको जमिनमा खोतल्ने कार्य नरोकिएको नगर प्रहरी प्रमुख पाण्डेको भनाइ छ ।

सस्तो र खुला बजारका लागि हामीकहाँ ठाउँ छैन
काठमाडौं महानगरपालिकाको क्षेत्रफल संरचनाले भरिएको छ । खाली ठाउँहरू निकै कम छन् । अब यहाँका सडक बिस्तारै खाली हुँदै छन् । तर, हिजो सडक र फुटपाथमा पसल थापेर बस्नेहरूलाई हामीले कडाइ गर्न सकेका थिएनौँ । अबचाहिँ महानगरभित्र अनधिकृत पसलहरू एउटा पनि रहनेछैन । त्यस्तै, खुला र सस्तो बजार भनेर हामीले छुट्टै ठाउँ तोक्दैनौँ । सटर वा महानगरलाई कर तिरेर नियमपूर्वक सञ्चालन भएका पसलहरू चल्छन् ।

सडकमा माग्न बस्नेलाई हटाइँदै
काठमाडौं महानगरपालिकाले महानगरभित्रका सडकमा माग्न बस्नेहरूलाई हटाउने तयारी गरेको छ । महानगरले धेरैजसो शारीरिक रूपमा अपांगता भएका व्यक्ति सडक र फुटपाथ नै छेकेर माग्न बसेकाले उनीहरूलाई हटाउन लागेको हो । यसका लागि महानगरलले नेपाल अपांग महासंघलाई पत्राचार पनि गरेको छ । यसबाहेक अन्य माग्न बस्ने व्यक्तिको तथ्यांक संकलन गरी उनीहरूको पृष्ठभूमि बुझेर परिवार सनाखत गर्ने र जिम्मा लगाउने तयारी गरेको छ । त्यस्तै, महानगरका सडकमा कतिपय संघ–संस्थाले पनि अपांगता भएका व्यक्तिलाई माग्नेका रूपमा प्रयोग गर्दै आइरहेका छन् । यी सबै तथ्य पत्ता लगाई सडकलाई माग्ने मानवमुक्त बनाउन लागिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।