काठमाडौँ । टुकुचा खोलामाथि निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाले जारी राखेको छ । पाटन जिल्ला अदालतले टुकुचामाथिको अनधिकृत संरचना हटाउन आइतबार आदेश दिएको थियो । तर महानगरले अदालतको आदेशबारे केही जानकारी नआएको जनाएको छ ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अदालतले जारी गरेको आदेशको लिखित जानकारी आफूले नपाएको बताए । उनले भने, ‘अदालतले के निर्देशन दिएको हो त्यसबारेमा हामीलाई जानकारी छैन । बाहिर आएको कुरा सही हो कि गलत हो भन्ने जानकारी पत्र नआइकन भन्न सकिँदैन । ’
उनले अदालतको आदेश सम्बन्धमा कार्यालयमा कुनै जानकारी नआएको र अदालतको सम्मान आफूहरुले गर्ने बताए । टुकुचाको अतिक्रमण हटाउनका लागि महानगरले अहिले कमलादीको लक्ष्मी बैंक उत्तरतर्फ निर्माणाधीन भवन नजिकै डोजर चलाइरहेको छ ।
तीमध्ये कित्ता नम्बर ७ मा २०६८ सालको जेठ २० मा घरजग्गा नै खरिद गरी भोगचलन गरिआएको देखिएको तथा कित्ता नम्बर ३०३८ र ३०३९ को जग्गा निवेदकहरुले २०५३ सालमा खरिद गरी महानगरपालिकाबाट २०५४ साल वैशाख ११ मा भवन निर्माण इजाजतपत्र प्राप्त गरी घर निर्माण गरेको र कित्ता नम्बर ३०३८ को जग्गामा बनेको घर निर्माण सम्पन्न भई प्रमाणपत्रसमेत लिइसकेको भन्ने देखिन आएको अदालतको आदेशमा उल्लेख छ ।
ती जग्गामा बनेका घर कानूनबमोजिम रित नपुर्याइ वा उचित क्षतिपूर्ति नदिइकन भत्काउने कार्य नगर्न नगराउनु भनी विपक्षीका नाममा अल्पकालीन आदेश जारी भएको थियो ।
अदालतको आदेशलाई पालना गर्दै ती तीनजटा जग्गामा बनेका घर तत्काल नभत्काइने महानगर स्रोतले बतायो । बाँकी अतिक्रमण गरिएका जग्गाहरुमा भने महानगरले आज पनि आफ्नो काम जारी राख्ने भएको छ ।





